काठमाडौं,३१ भदौ । उता, एमालेबाटै विद्रोह गरी गठन भएको एकीकृत समाजवादीका नेतालाई एमालेले पार्टीमा प्रवेश गराइरहेको छ । पुरानो घर अर्थात् एमालेमै फर्किने अभियानकै रूपमा एकीकृत समाजवादीमा रहेका नेता– कार्यकर्तालाई एमाले भित्र्याउने काम भइरहेको छ ।
एकीकृत समाजवादीका तर्फबाट प्रदेशसभा निर्वाचनमा मकवानपुर–१ बाट प्रत्यक्ष उम्मेदवार सिफारिस भएका विशभ अधिकारीले पार्टी परित्याग गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै ‘नागरिकता विधेयकको पक्षमा लागेको र देशमा वैदेशिक हस्तक्षेप बढेको तर पार्टीले कुनै प्रयत्न नगरेको’ उल्लेख गरेका छन् ।
गत आइतबार एकीकृत समाजवादी केन्द्रीय सदस्य बालकृष्ण चापागाईं एमालेमा फर्केका थिए । उनी पनि लुम्बिनी प्रदेशसभा सदस्यका लागि एकीकृत समाजवादीबाट सिफारिस भएका थिए । चापागाईं सो पार्टीको अर्थ तथा योजना विभाग उपप्रमुख र रूपन्देही जिल्लाको निवर्तमान सह–इन्चार्ज थिए ।
केही दिनअघि एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य गणेशबहादुर शाही एमालेमा प्रवेश गरे । डोल्पाका शाहीलाई ओलीले निजी निवास बालकोटमा स्वागत गरे ।
सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाहीले गत ९ भदौमा समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी छाडेका थिए ।
१५ भदौमा उनी एमालेमा प्रवेश गरे । पार्टी छाड्दै गर्दा उनले लेखे, ‘२०५४ सालमा वामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिँदै उनका पछि लागे, गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिएँ । पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीलाई नै फाइदा पु¥यायो । त्यसबापत पछुतो र आत्मग्लानि भएको छ ।’
गत १५ भदौमा दुई सांसद नेकपा एमालेमा फिर्ता भएका छन् । फिर्ता हुनेमा कुलवीर चौधरी र तारा लामा तामाङ छन् । कञ्चनपुर पुगेर एमाले अध्यक्ष ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।
यसैगरी, कञ्चनपुरकै वेदकोटगढी नगरपालिकाका पूर्वनगरप्रमुख अशोक चन्द पनि सोही दिन एकीकृत समाजवादी छाडेर एमालेमा फर्किए ।
उता, एक हप्ताअघि एमाले गुल्मीले आयोजना गरेको कार्यक्रममा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश भण्डारी, जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य गणेश खनालसहित अधिकांश जिल्लास्तरका नेता–कार्यकर्ता एमालेमा फर्किएका हुन् ।
एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य हिमाल थापा, युवा संघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य तथा मुसिकोट अध्यक्ष मदनदिउ घिमिरे, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी, विद्यार्थीका जिल्ला अध्यक्ष निलकण्ठ पाण्डे, पार्टीका छत्रकोट अध्यक्ष यमबहादुर खत्रीसहितको टोली एमालेमै फर्किएका छन् ।



















