मोरङ,३१ भदौ । स्थानीय निर्वाचन २०७९ को आँकडा हेर्ने हो भने मोरङ क्षेत्र नम्बर ४ मा पाँचदलीय गठबन्धन होइन, नेकपा एमाले बलियो छ। क्षेत्र नम्बर ४ मा जम्मा २३ वटा वडा छन्। जसमध्ये नेकपा एमालेले स्थानीय निर्वाचनमा १८ वटा वडा जितेको छ।

यो क्षेत्रमा स्थानीय चुनावमा गठबन्धन थियो। तर, गठबन्धनले एमालेको पुच्छर मात्रै हल्लाउन सक्यो। गठबन्धनबाट नेपाली कांग्रेसले जम्मा ३, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले १- १ वडा जिते।

भोटको हिसाबले भन्ने हो एमालेको २६ हजार र कांग्रेसको २१ हजार आयो। स्थानीय चुनावको परिणामले संसदीय निर्वाचनमा कति प्रभाव पार्ने हो त्यो हेर्न बाँकी छ।

तर, यो क्षेत्र आफ्नो ‘गढ’ हो भनी दाबी कांग्रेसले गरिरहेको छ। तर, २०४८ यताका चुनावले भन्छन् - यो क्षेत्र कांग्रेसको बपौती होइन। २०४८, २०५६ र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले यो क्षेत्रमा जितेको थियो।

२०५१ सालको मध्यावधि चुनावमा एमालेले जितेको छ। २०६४ सालको निर्वाचनमा त्यतिबेलाको मधेसी जनअधिकार फोरम हालको जसपा पार्टीले जितेको छ। २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले जितेको छ।

२०६४ सालमा चुनाव जितेका जसपाका नेता भीमलाल राजवंशी अहिले एमालेमा छन्। २०७४ सालमा चुनाव जितेका अमनलाल मोदी अहिले गठबन्धनमा छन्।

यो क्षेत्रमा झन्डै सवा लाख मतदाता रहेको अनुमान छ। यद्यपि, निर्वाचन आयोगले अन्तिम मतदाता सूची सार्वजनिक गरिनसकेकाले मतदाताको संख्या यकिन भइसकेको छैन।

निर्वाचनमा करिवन ७० प्रतिशत मत खस्ने गरेको आँकलन पहिलेदेखिको छ। यसहिसाबले हेर्ने हो भने करिब-करिब ७५ देखि ८० हजार मत खस्न सक्छ। चुनाव जित्ने उम्मेदवारलाई ३५ देखि ४० हजार भोट आवश्यक पर्न जान्छ।

यो निर्वाचन क्षेत्रमा विराटनगर महानगरपालिकाका ६ वटा वडा, कटहरी गाउँपालिकाका ७, ग्रामथान गाउँपालिकाका ७ र बेलबारी नगरपालिकाका ३ वटा वडा समेटिन्छन्। यी वडामा स्थानीय निर्वाचनको आँकडामा गठबन्धनलाई एमालेले धेरै टाढा छोडिदिएको छ।

नेकपा एमालेका नेता विनोद ढकाल स्थानीय चुनावको मत आफ्नो चुनावी माहोलको एउटा ‘मानक’ पनि ठान्छन्। उनी यो क्षेत्रमा एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। उनी नै एमालेका उम्मेदवार निश्चित हुन्।

पाँच दलीय गठबन्धनले यो क्षेत्रमा उम्मेदवार टुंगो लगाउन सकेको छैन। यो क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसले भाग पाउने छ। जसमा नेता महेश आचार्य, अमृत अर्याल, गुरुराज घिमिरे र भीम पराजुलीको दाबी छ। यीमध्ये जो उम्मेदवार बने पनि ढकालसँग टक्कर हुने देखिन्छ।

‘गठबन्धन हुन्छ, गठबन्धनका उम्मेदवार म भन्दा बलिया हुन सक्लान्, तर गठबन्धनबाहिरको स्वतन्त्र, राप्रपालगायत साना पार्टीको भोट छ,’ ढकाल भन्छन्, ‘त्यस्ता भोट मेरो पक्षमा आउन सक्ने भयो।’ दोस्रो, गठबन्धनभित्रै किचलो रहेका कारण त्यहीँभित्र आफू खेल्नसक्ने ढकालको बुझाइ छ। तेस्रो, गठबन्धनबारे जनतामा विश्वास छैन भन्छन् ढकाल।

‘गठबन्धनमा राजनीतिक, वैचारिक विविधता छ नै, गठबन्धनमा अस्पष्टता पनि छ,’ ढकाल भन्छन्, ‘राष्ट्रिय अखण्डता, एकतालाई गठबन्धनले खल्बल्याएको छ, एसपिपीजस्ता विवादास्पद सम्झौता र नागरिकता विधेयक नै गठबन्धनको पराजय बन्न सक्छ।’

आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनतामा लगेको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना साकार पार्न र गठबन्धनका कमजोरी लिएर जनतामा जाने ढकालले बताए।

‘चुच्चे नक्सा कसले बनायो? एमालेले हो नि, त्यसकारण एमाले राष्ट्रियताबारे स्पष्ट भएको जनतालाई थाहा छ,’ उनले भने, ‘नागरिकता विधेयकका सन्दर्भमा पनि एमाले स्पष्ट छ।’

नेकपा एमालेका केन्द्रीय सदस्य ढकाल मोरङका पुराना र खारिएका नेता हुन्। चुनावी अनुभव राम्रोसँग हासिल गरेका छन्। २०६६ को उपनिर्वाचनमा क्षेत्र नम्बर ७ मा उनी उठेका थिए।

कांग्रेस नेता डा. शेखर कोइरालाले त्यतिबेला चुनाव जितेका थिए। २०७४ सालमा ढकाल विराटनगर महानगरपालिकाको मेयर उठेका थिए। हारे पनि उनले दोस्रो मत ल्याएका थिए।

पार्टीका आन्तरिक चुनावको अनुभव त उनले धेरैपटक हासिल गरिसकेका छन्। सचिव हुँदै दुई पटक मोरङ जिल्ला कमिटीको अध्यक्षको चुनाव लडेको अनुभव उनीसँग छँदैछ।

त्यसबाहेक उनी सिधा, इमान्दार र वैचारिक रुपमा स्पष्ट मानिन्छन्। लाभको पदमा कहिल्यै पुगेका छैनन्। त्यसकारण उनी ‘निष्कलंकित’ छन्। ‘यदाकदा कतिपय विषयमा जान अन्जानमा कमजोरी भए होला, तर राजनीतिमा बेदाग छु,’ उनी भन्छन्, ‘त्यसकारण गठबन्धनलाई एक्लै टक्कर दिएर चुनावमा जाँदैछु।’

गठबन्धनसँग ‘चुनौतीपूर्ण’ ढंगले मैदानमा उत्रनु कठिन छ, तर उनले त्यो चुनौती पन्छाउने हिम्मत जुटाएका छन्। ‘कतिपय मान्छेले भन्छन् - त्यतिका दलसँगको गठबन्धनसँग लड्दा हारिन्छ, हार्ने चुनावमा बेकारमा किन खर्च र मिहेनत गर्नु?,’ ढकाल भन्छन्, ‘हिम्मत गर्नुपर्छ, लड्नुपर्छ, संघर्ष गर्नुपर्छ, सफलता हात पर्छ। चुनौती त जहाँ पनि छ नि होइन र?’

राजनीतिमा उनको सक्रियता २०३५ सालदेखिको हो। जतिबेला उनी भोजपुरको प्याउलीस्थित सारदा माविमा पढ्थे। पञ्चायत कि बहुदल भनी आन्दोलन चलिरहेको थियो। २०२५ सालमा जन्मेका ढकाल जम्मा १०-११ वर्षका मात्रै थिए।

त्रिभुवन विश्वविद्यालयमा डिग्री पढेकाहरू प्राक्टिस टिचिङ गर्न सारदा माविमा आएका थिए। उनीहरूकै संगतबाट उनी बहुदलको पक्षमा उभिए। २०४१ सालमा एसएलसी दिएपछि उनी परिवारसहित विराटनगर आए। २०४२ सालदेखि उनी अनेराश्ववियुमा आवद्ध भएर विद्यार्थी राजनीति गर्न थाले।

जनता ल क्याम्पसबाट बिएल गरेका ढकालले उच्च शिक्षा हासिल गर्दागर्दै २०४६ सालको पहिलो जनआन्दोलन झेले। विद्यार्थी राजनीतिबाट बहुदलीय व्यवस्था ल्याउन योगदान पुर्‍याए। अनेराश्ववियुको तलको प्रारम्भिक कमिटीदेखि संगठन विभाग प्रमुख, केन्द्रीय कमिटी उपाध्यक्ष बनेर उनले २०५७ सालमा विद्यार्थी राजनीति छोडे।

त्यसपछि पार्टीमा पूर्णकालीन भए। संगठन विभाग प्रमुख, सचिव हुँदै दुई पटक जिल्ला कमिटी अध्यक्ष भए। अहिले उनी पार्टीको मोरङ इञ्चार्ज, प्रदेश १ कमिटीको सह-इञ्चार्ज र केन्द्रीय कमिटी सदस्य छन्।

अहिलेसम्मका पाँच वटा निर्वाचनले आफू लड्न लागेको क्षेत्र कांग्रेसले दाबी गरेअनुसार उसको ‘गढ’ होइन भन्छन् ढकाल। ‘म लड्न लागेको क्षेत्र कांग्रेसको बपौती होइन, त्यसकारण म जित्ने लक्ष्यका साथ चुनावी मैदानमा जाँदैछु,’ उनले भने।

पार्टीले सर्वसम्मत सिफारिस गरेपछि ढकाल वडाहरूमा डुलिरहेका छन्। सिफारिस अनुमोदन भएपछि चुनावी अभियान लिएर हिँड्ने ढकालले बताए। ढकालको व्यापार-व्यवसाय छैन। उनी शैक्षिक संस्थामा आवद्ध भएर जनताका छोराछोरीलाई गुणात्मक शिक्षा दिने अभियानमा छन्। उनी एभरेष्ट बोर्डिङ स्कुल विराटनगरका अध्यक्ष छन् ।  नवपथ बाट