काठमाडौं,७ असोज । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सत्ता गठबन्धनसँग मिलेर चुनावमा जाने तयारी गरिरहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई गठबन्धनले धोका दिएको छ ।
गठबन्धन अहिले रहेकै दलका बिचमा सिट भागबण्डा गर्न नसकेर रुमल्लिएपछि लोसपा सत्ता गठबन्धनसँग सहकार्य गरेर नजाने निचोडमा पुगेको छ । यस अघि गठबन्धनका दलले एमाले बाहेक सबै दललाई गठबन्धनमा समावेश गराएर चुनाव लड्ने बताउँदै आएका थिए ।
लोसपा पनि सत्ता गठबन्धनसँगै मिल्ने प्रयत्नमा थियो । जसको लागि उमाशंकर अर्गरियाको संयोजकत्वमा वार्ता गर्न समिति बनाएको थियो । अर्गरिया नै लोसपा छाडेर एमाले प्रवेश गर्नुभएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले आउने निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ एमाले लगायतका विचार मिल्ने पार्टीसँग सहकार्य गर्न राजेन्द्र महतोको संयोजकत्वमा समिति गठन गरेको जानकारी दिनुभएको छ । समितिको सदस्यमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल रहनुभएको छ ।



















