जनकपुरधाम, ८ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहान जनकपुर पुग्नुभएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट सयौं नेता कार्यकर्ताले एमाले प्रवेश गर्ने इच्छा व्यक्त गरेकाले उनीहरूलाई पार्टीमा स्वागत गर्न अध्यक्ष ओली जनकपुर पुग्नु भएको हो ।
जनकपुर विमानस्थलमा ओर्लेर सिधैं जनकपुरस्थित रेल्वे स्टेशन हान्निनु भएका अध्यक्ष ओली रेल यात्रा गर्दै महिनाथपुर स्टेशन ओर्लनुभएको प्रेस चौतारी धनुषा अध्यक्ष अवधेस कामतले बताउनुभयो । महिनाथपुर स्टेशन ओर्लेर बिदेह नगरपालिकास्थित तिनकोरिया पुग्नु भएका अध्यक्ष ओलीलाई नयाँ प्रवेश गर्ने जसपा कार्यकारिणि सदस्य उमाशंकर अरगडियाले स्वागत गर्नुभएको छ ।
पार्टी प्रवेशस्थल जसपा नेता अरगडियाको गृहनगर बिदेहनगरपालिका भए पनि त्यहा मधेस प्रदेशकै जसपाका सयौ नेता, कार्यकताको उपस्थिति रहेको बताइएको छ । जसपा नेता अरगडिया धनुषा–बाट निर्वाचित प्रतिनधिसभा सदस्य हुन् । आफ्नै गृहनगरमा ओलीको अतिथि बनाएर उहाँ सयौं कार्यकतासहित एमाले प्रवेश गर्न लाग्नुभएको हो । अरगडियासंगै मधेस प्रदेशका धेरैजना जसपा त्यागेर एमाले प्रवेश गरिरहेका छन् भने आजै सोही कार्यक्रममा लुम्विनी र प्रदेश –१ का पनि जसपा नेता प्रवेश गर्न लागेको चौतारी अध्यक्ष कामतले बताउनुभयो । कार्यक्रम २ वजे शुरु हुने बताइएको छ ।



















