काठमाडौं,८ असोज  । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बाइपास गरेर जान खाेजे राम्राे नहुने चेतावनी दिनुभएकाे छ ।

शनिबार काठमाडौंमा आयोजित नेता डा. शेखर कोइराला समूहको खबरदारी सभामा बाेल्दै नेता घिमिरेले सबैलाई न्याय हुनेगरी पार्टी नचले विद्रोह गर्ने चेतावनी दिनुभयाे ।

लामो समय त्याग तपस्या गरेका नेताहरुलाई पाखा लगाइएको भन्दै उहाँले कडा आपत्ति जनाउनुभयाे । नेता घिमिरेले राज्यकाे शक्तिकाे दुरुपयाेग नगर्न समेत पार्टी सभापतिलाई चेतावनी दिनुभयाे ।

उहाँले प्रश्न गर्नुभयाे - 'हामी वडा सचिव भएकै छैनाैं,नेपाली कांग्रेसकाे सिद्धान्त, इतिहास र परिभाषा नबुझी कांग्रेसकाे थाप्लाेमा लगेर बजाएर, सांसद् बनाएर, मन्त्री बनाएर, आफ्नाे वरिपरि राखेर राज्यकाे ढुकुटी दाेहाेन गर्ने अधिकार पार्टी नेतृत्वलाई कसले दियाे ?'

पार्टीभित्रको आन्तरिक विवाद मिलाएर मात्र गठबन्धनमा छलफल गर्न उहाँले सभापतिकाे ध्यानाकर्षण गराउनुभयाे ।  'म वडा सदस्य भएकाे छैन, देश र जनताका लागि राजनीति गरेकाे हाे,पदमा पुगाैँला,माेजमस्ती गराैंला सुखसुविधा भाेगाैंला प्रतिष्ठित बनाैंला भनेर गरेकाे हाेइन,बालुवाटारबाट कान खाेलेर सुन्नुस्,म वडा सदस्य भएकाे छैन,तर देशभरिका पार्टीका साथीकाे निम्ति बलिमा चढ्न तयार छु ।'

आफूहरुकाे लडाइँ समान न्याय र अवसरकाे लडाइँ भएकाे नेता घिमिरेले बताउनुभयाे । कार्यकर्तालाई न्याय नगर्नेलाई जनताले पनि न्याय नगर्ने चेतावनी पनि उहाँले देउवालाई दिनुभयाे ।

सभापति देउवा स्वयम् ४० प्रतिशतका परिकल्पनाका रहनुभएकाे बताउँदै उहाँले प्रश्न गर्नुभयाे - 'हामीले भनेकाे उहाँले नमान्ने ?'


पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी चुनावको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी नेता घिमिरेले दिनुभयो ।समानुपातिकतर्फको टिकट वितरणको सूची तत्काल सच्याउन पार्टी सभापति शेरबहादुर देउवालाई उहाँले आग्रह गर्नुभयाे ।


कांग्रेसले मागेजति सिट संख्या गठबन्धनबाट पाउनुपर्नेतर्फ लक्षित गर्दै उहाँले भन्नुभयाे - 'म हाम्रो सभापतिलाई मात्र होइन, प्रचण्डजी र माधव नेपालजीहरूलाई पनि भन्न चाहन्छु हामी आक्रोशको चरणमा छौँ, यसपछि विद्रोह हुनसक्छ, बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा,घण्टौँ बैठक गर्दैमा मागे जति सिट पाइँदैन र पाएजति सिट जितिँदैन ।'


आफूहरू आक्रोशको चरणमा रहेकाे भन्दै नेता घिमिरेले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कांग्रेसकाे मतबाट चुनाव जित्ने सपना नदेख्ने चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे -'कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पुर्‍याउनुस्, कांग्रेसको भोटबाट जित्ने सपना देख्नुभएको छ भने त्यो सम्भव छैन ।'