काठमाडौं,८  असोज । नेकपा एमालेले गठबन्धनसहित अन्य दल त्यागेर चर्चित नेतासहित दुई लाख नेता कार्यकर्ता पार्टी प्रवेश गरेको तथ्यांक सार्वजनिक गरेको छ । एमाले महासचिव शंकर पोखरेलले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित आयोजित ‘पार्टी क्रस, लाख क्रस’ कार्यक्रममा यस्तो तथ्यांक राख्नुभएको हो ।

कार्यक्रममा एमाले प्रवेश गरेका डेढलाख भन्दा बढीको जिल्लागत तथ्याङ्क प्रस्तुत गरिएको थियो । यो सङ्ख्या पचास जिल्लाको मात्र रहेको र सबै जिल्लाको सङ्कलन गर्दा दुईलाख भन्दा बढी हुने वताइएको छ । महासचिव पोखरेलले विगत केही महिनायता विभिन्न पार्टीबाट केन्द्रीय सदस्यहरू, पूर्वमन्त्रीहरू, प्रतिनिधि सभा र प्रदेशसभाका सांसदहरू लगायत ठूलो सङ्ख्यामा नेताकार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको वताउनुभयो । आज मात्रै धुनुषामा ठूलो संख्यामा पार्टी प्रवेश भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पूर्वमन्त्री उमाशंकर अगडियासहित ठूलो संख्यामा पार्टी प्रवेश गराउनु भएको हो ।

नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतका साथ विजय प्राप्त गर्न प्रत्येक पार्टी सदस्यले ‘दुई नयाँ मतदाता थप्ने र पाँच पुराना मतदाताको मत संरक्षण गर्ने’ नीति लिएको छ । कार्यक्रममा महासचिव पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशील नेपालीलाई एमालेको झण्डामुनी गोलबन्द हुन आह्वान गर्नुभयो ।

नेकपा एमालेमा प्रवेश गर्ने अन्य पार्टीका नेता कार्यकर्ताहरूको सङ्ख्या लाख नाघेको अवसरमा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ‘पार्टी क्रस, लाख क्रस’ कार्यक्रममा महासचिव पोखरेलले विकास, समृद्धि र अग्रगमनको चाहना राख्ने सबैलाई पार्टीमा स्वागत गरिने वताउनुभयो ।