काठमाडौं,१२ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यस पटकको चुनावलाई लडाइँको रूपमा लिन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

मंगलबार राष्ट्रिय खेलकुद महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भन्नुभयो, ‘यस पटकको निर्वाचनलाई केवल निर्वाचन मात्रै ठान्नु हुँदैन, यस पटकको निर्वाचन लडाइँको रूपमा हाम्रो अगाडि छ, यो लडाइँ, जुन लडाइँमा हामीले जित्नै पर्छ ।’

कार्यक्रममा बोल्दै पोखरेलले यस पटकको दशैँको तयारीमा निर्वाचनको पनि तयारी गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । देशको राजनीतिमा एकातिर एमाले र अर्को तिर गठबन्धन उभिएको उहाँले बताउनुभयो । एमालेको वरिपरि देश बनाउनु पर्छ र राष्ट्र जोगाउनुपर्छ भन्नेहरू गोलबद्ध भएका र गठबन्धनसँग देश र एमाले सिद्धाउने षडयन्त्रकारीहरू रहेका उहाँले टिप्पणी गर्नुभयो ।

स्थानीय तह निर्वाचनबाट एमाले देशको सबैभन्दा धेरै जनमत प्राप्त पार्टी भएको उहाँले स्मरण गराउनुभयो । एमालेलाई भित्तामा टाँस्छौँ र टर्च बालेर खोज्ने बनाउँछौँ भन्नेको हालत अहिले के छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

यस पटकको निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउने उहाँले दाबी गर्नुभयो । ‘एमालेले बहुमत ल्याउँछ, त्यसको आधार के हो ? हामीसँग ९ लाख सदस्य छन्’, उहाँले भन्नुभयो ।

एमालेका ९ लाख सदस्यले दुई वटा नयाँ मत थप्ने र पाँच वटा मत सुरक्षित गर्ने बित्तिकै एमालेले बहुमतको सरकार बनाउने उहाँले दाबी गर्नुभयो । एमालेले बहुमतको सरकार बनाउँदा केपी ओली प्रधानमन्त्री हुने उहाँले प्रष्ट पार्नुभयो ।

केपी ओली बुढो हुनुभयो भन्नेलाई उहाँले गर्ने निर्णय कुनै युवाको भन्दा कम नभएको पोखरेलले जवाफ दिनुभयो । केपी ओलीले गर्ने काम कुनै पनि तन्देरीका भन्दा कम नभएको उहाँले दाबी गर्नुभयो ।

केपी ओलीले अगाडि सार्नु भएको विचार कुनै पनि तन्देरीका विचार भन्दा अग्रगामी छन्, त्यस कारण एमालेले घोषणा गरेको के हो भने अबको सरकार एमालेको, त्यो एमालेको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी ओली भनेका छौँ’, पोखरेलले भन्नुभयो ।

पोखरेलले एउटा बुथमा एमालेका कम्तीमा २ सय जना युवा परिचालन हुने उहाँले बताउनुभयो । बुथको सुरक्षा गर्न एमालेका युवा, विद्यार्थी र खेलाडी समेटेर बुथ कमिटी गठन गरिने उहाँले जानकारी दिनुभयो ।