काठमाडौं,१३ असोज । नेपाली कांग्रेसका नेता धर्म परियारले नेकपा एमालेलाई हराउने तागत सत्ता गठबन्धनमा नरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहले आज काठमाडौंमा गरेको चियापान तथा शुभकामना आदाप्रदान कार्यक्रममा सो समूहका नेता परियारले केन्द्रमा केपी ओलीलाई गाली गरे पनि जिल्ला जिल्लामा गएर एमालेलाई हराउने तागत सत्ता गठबन्धनसँग नरहेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विगतमा गाली गर्ने कांग्रेसले सिद्धान्त विर्सिएको उहाँले बताउनुभयो । दुई तिहाइको सरकार ढालेर ओलीले प्रतिनिधि सभा विघटन गर्दा अब कांग्रेसको बहुमतको सरकार चाहिन्छ, गठबन्धनको बहुमतको सरकार चाहिन्छ भन्ने तर अहिले आएर मनलाग्दी गर्ने काम पार्टीले गरेको परियारले बताउनुभयो । सभापति शेरहादुर देउवाको प्यानलमा दलितभित्र पनि समावेशी नभएको पनि परियारले बताउनुभयो ।
‘अहिले शेरबहादुर देउवाज्यूको प्यानलमा विश्वकर्मा मात्रै आएको अवस्था छ, दुई जना पुरुष, दुई जना महिला विश्वकर्मा मात्रै रहँदा, दलितभित्र पनि समावेशी नहुँदा अहिले प्रधानमन्त्रीको क्वार्टरमा र सानेपामा छलफल चल्दा हामीजस्ताको आवाज त्यहाँ पुगेको छैन, पार्टी बिग्रिरहेको छ, भत्किएको छ, ओलीले प्रधानमन्त्री हुँदा संसद् विघटन गर्नुभयो, कांग्रेस गठबन्धनको सरकार चाहियो भनेर भन्नुहुन्छ, तर केन्द्रको नीति, निर्देशन हेर्दा समानुपातिकको सिफारिस गठबन्धन हराउने षड्यन्त्रमा हुनुहुन्छ केन्द्रमा केपी ओलीलाई गाली गर्ने तर जिल्ला जिल्लामा गएर नेकपा एमालेलाई हराउन सक्ने तागत छ जस्तो लाग्दैन,’ परियारले भन्नुभयो ।
पार्टी सच्चिनुपर्ने र टिकट दिँदा समानुपातिक हुनुपर्ने पनि नेता परियारले बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो पत्नीलाई समानुपातिकमा राख्ने, गृहमन्त्रीले आफ्नो पत्नीलाई राख्ने कुराले राम्रो सन्देश नगएको पनि बताउनु भयो । ‘राजाको विरोध गरिरहँदा कांग्रेसभित्रै राजा त भएका होइनन् ? नेपाली कांग्रेस २५ सिटमा सीमित हुने त होइन ?’ उहाँको प्रश्न थियो ।



















