काठमाडौं,२१ असोज । नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन् ।
सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।
करिब दुइ साता पहिले गंगा सत्गौवा थारूले शान्ता चौधरीसँगको संयुक्त तस्विर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा हामीमध्ये जसले टिकट पाए पनि एक अर्कालाई सघाउने निर्णय गरियो ।’
चौधरीले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु । जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’
पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन् ।



















