काठमाडौं,२३ असोज । एमाले पूर्व सचेतक शान्ता चौधरी विरुद्ध निर्वतमान सांसद गंगा चौधरी सत्गौवाले बागी उम्मेदवारी दर्ता गराएकी छन्। एमालेले आधिकारिक उम्मेदवारको रुपमा शान्ताको नाम तय गरेपछि उनले स्वतन्त्र उठ्ने घोषणा गरेकी थिइन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी हुन्। उनी एमालेकी समानुपातिक सांसद हुन्।

309870052_393548129655343_8347595565900420694_nतर करिब दुइ साता पहिले गंगा सत्गौवा थारूले शान्ता चौधरीसँगको संयुक्त तस्विर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा हामीमध्ये जसले टिकट पाए पनि एक अर्कालाई सघाउने निर्णय गरियो ।’

गंगाले केन्द्रीय सदस्यबाट पनि छिट्टै राजीनामा दिएर स्वतन्त्र हुने घोषणा गरेकी छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिकतर्फबाट निर्वाचित भएकी थिइन्। त्यसअघि उनी थारुहटबाट सांसद भएकी थिइन्।

जसपाबाट उम्मेदवारी दिन हिँडेका उम्मेदवार नै कांग्रेस प्रवेश गरेपछि…

कपिलवस्तुमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिन हिँडेका उम्मेदवार नै नेपाली कांग्रेस प्रवेश गरेका छन्।

मनोनयन दर्ता गराउन दलबलसहित निर्वाचन अधिकृतको कार्यालय हिँडेका उम्मेदवार नै कांग्रेस प्रवेश गरेपछि एमाले-जसपामा अन्यौल भएको छ।

नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका नेताहरूले पूर्व सहमति अनुसारको उम्मेदवारको मनोनयन गर्न दलबलसहित हिँडेका सहसराम यादव बाटैबाट कांग्रेस पसेर उम्मेदवार बनेपछि जसपाले उक्त क्षेत्रमा उम्मेदवारी नै दिन पाएन।

केन्द्र स्तरमा दुई पार्टीबीच भएको सहमति अनुसार तीन प्रतिनिधिसभा र ४ प्रदेशसभा एमालेलाई र दुई प्रदेश सभा जसपाले पाएका थिए। सोही अनुसार आइतबार बिहान दुवै दल मिलेरै मनोनयन दर्ता गर्ने तयारीमा थिए।

एकाएक जसपाबाट प्रदेश सभाका उम्मेदवार बनेका लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका सहसराम यादव कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेपछि यहाँको राजनीतिक समीकरण फेरिएको छ।

दिउँसो १२ बजेसम्म एमाले-जसपा गठबन्धनबाट उम्मेदवारी दर्ता गराउने गरी छाता चुनाव चिह्नसहितको दलबलसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर कांग्रेसका उम्मेदवार बन्न पुगे।

यादव कांग्रेसबाट उम्मेदवार बनेपछि गठबन्धनको एक घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ।सत्ता गठबन्धनको निर्णय अनुसार यस क्षेत्रमा आफूले पाउनुपर्ने दाबी गर्दै आएको समाजवादीले फैजल खानलाई उम्मेदवार बनाएको छ।

जसपा उम्मेदवार यादव कांग्रेसको उम्मेदवार बनेपछि एमालेले गठबन्धन तोड्दै जसपाले पाएको निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।

प्रतिनिधिसभा १ को ‘ख’ मा एमालेले मधुसूदन चौधरीलाई उम्मेदवार बनाएको छ। उनी केही दिनअघि उम्मेदवार पाउने सर्तमा लोसपाबाट एमाले प्रवेश गरेका थिए।

यसैगरी जसपाले क्षेत्र नं २ को प्रदेश सभा ‘ख’ बाट अब्दुल रसिदलाई उम्मेदवार बनाएको छ। यो क्षेत्र एमालेले पाएको थियो। भगवती पाण्डे सेतोपाटी