काठमाडौं,२५ असोज । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कार्यतालिका अनुसार आज मंगलबार) उम्मेदवारको नामावली प्रकाशन गरिँदै छ । आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यातालिका छ ।
उम्मेदवारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो । मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले व्यवस्था मिलाएको थियो ।
आयोगमा परेको उजुरीमाथि सोमबार ३ बजेदेखि मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।
उनका अनुसार आयोगमा कूल ५,९६८ उमेदवारी दर्ता भएको छ । प्रतिनिधिसभाको १६५ वटा निर्वाचन क्षेत्रका लागि २,५१३ जनाको उम्मेदवारी दर्ता भएको सहायक प्रवक्ता अर्यालले जानकारी दिए । प्रदेशसभातर्फ ३,४५५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । उम्मेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ ।
उम्मेदवारले आफूबिरुद्ध परेको उजुरीको आज जवाफ दिनु पर्ने
प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारबिरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज (मंगलबार) समयसीमा तोकिएको छ । २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारबिरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समय सीमा तोकिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारसहितका उम्मेदवारबिरुद्ध परेको छ । देशैभरीका उम्मेदवारमाथि परेको उजुरी पछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सूचना टाँस गरी सवन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
उता निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनेका लागि समय सीमा तोकिएको छ । सोही दिन अपरान्ह ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।