पथरी,२९ असोज। सत्ता साझेदार लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट मोरङ्ग क्षेत्र नं ३ प्रदेश निर्वाचन परिचालन समितिले पथरी शनिश्चरेमा गठबन्धनका दलहरूको संयुक्त भेला गरेको छ।
शनिबार प्रतिनिधि तथा प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरु सहितको संयुक्त भेला भएको हो।
निर्वाचन परिचालन समिति मोरङ्गका संयोजक गणेश खड्काको अध्यक्षतामा सम्पन्न भएको संयुक्त भेलालाई प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न, समाजको समानुपातिक विकास गर्न र जनताको दुःख सुखमा साथ दिने उम्मेदवारहरूलाई विजयी तुल्याउने उद्देश्यले आममतदाताहरूको घरदैलोमा पुगेर मत माग्न आग्रह गरेका छन्।
आगामी मंसिर -४ गते हुने निर्वाचन मध्येनजर गर्दै उनले लोकतान्त्रिक वाम गठबन्धनले अवलम्बन गरेका निर्वाचन सम्वन्धि नीति, कार्यक्रम तथा लक्ष्य जनतासामु स्पष्ट रुपमा राखेर जनमुखी कार्यदिशा तय गर्न पनि अनुरोध गर्दै गठबन्धनका तर्फका उम्मेदवारहरू जिताउन औल्याउनु भएको थियो। उहाँले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई नजिताए भविष्यमा गणतन्त्र संस्थागत गर्न र समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक आन्दोलनको रक्षा पनि नहुने जनाउनु भयो।
सोही भेलामा प्रदेश सभाको लागि समानुपातिक समावेशी समुहको खस आर्य कोटाबाट समानुपातिक उम्मेदवारी दिनुभएको नेकपा - माओवादी केन्द्रकी केन्द्रीय सदस्य गीता तिम्सिनाले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न र जनताको हितमा काम गर्ने गठबन्धनका सबै उम्मेदवारहरूलाई विजयी तुल्याउने गरी जनतामाझ जान घनीभूत लागी पर्नु पर्ने बताउनुभयो।
निर्वाचन परिचालन समिति मोरङका सह संयोजक चण्डी प्रसाद राईले स्वागत मन्तव्य राख्नु भएको भेलामा प्रदेश सभाको लागि आदिवासी जनजाति कोटाबाट समानुपातिक उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सदस्य मान प्रसाद लिम्बु, नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभाको लागि समानुपातिक उम्मेदवार
वसन्त भट्टराई, नेकपा - माओवादीका केन्द्रीय सदस्य तथा चुनाव प्रचार प्रसार समितिका संयोजक लाल बहादुर सुस्लिल मगर , नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा नेपाल दलित मुक्ति सगठनको केन्द्रिय सचिव कृष्ण कुमारी विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।
सोही भेलामा निर्वाचन परिचालन सम्वन्धि यूवा, संचार, प्रचार प्रसार, आर्थिक, आदि विभिन्न समितिहरु गठन गरी घोषणा गरिएको थियो।



















