घनश्याम खतिवडा कुशल राजनीतिक व्यक्तित्व तथा पूर्वी नेपालका एक परिपक्व एवं अग्रणी सहकारी अभियन्ताका रूपमा परिचित हुनुहुन्छ । २०१८ साल कात्तिक १२ गते ताप्लेजुङको नाङखोल्याङ-२ (हाल पाथीभरा याङवरक गाउँपालिका १) मा जन्मनुभएका खतिवडाले २०३३ सालमा तत्कालीन कोअर्डिनेसन केन्द्र (कोक) को बाल रेडगार्डबाट राजनीतिक यात्रा शुरू गर्नुभएको थियो ।

सानै उमेरदेखि बामपन्थी राजनीतिमा झुकाव राख्नुहुने खतिवडा २०३७ सालमा तत्कालीन नेकपा मालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु पाँचौँको जिल्ला सदस्य र २०४४ सालमा नेकपा मालेको जिल्ला सदस्य हुनुभयो । बहुदलीय व्यवस्थाको स्थापनापछि पार्टी एकता भएर नेकपा एमाले हुँदा पनि उहाँ जिल्ला कमिटी सदस्य हुनुभयो । त्यसबेला उहाँ जिल्ला कमिटीमा सबभन्दा कान्छो सदस्य हुनुहुन्थ्यो । जननेता मदन भण्डारीको उत्प्रेरणाले २०४२ सालमा शिक्षण पेसाबाट राजीनामा दिएर उहाँ जनपक्षीय प्रधानपञ्चमा उम्मेद्वार हुनुभयो । २०३४ सालदेखि बुद्ध माध्यमिक विद्यालय, केराबारीमा शिक्षक खतिवडा १९ मतले पराजित हुनुभयो । पराजयलगत्तै पक्राउ पर्नुभएका उहाँ ६ महिनासम्म जेल पर्नुभयो । जेलबाट छुटेपछि भूमिगत हुनुभएका खतिवडाले पटक-पटक गरी एक वर्ष चार महिना जेल जीवन बिताउनुभयो ।

२४ वर्ष जिल्ला कमिटीमा बसेर कार्यसम्पादन गर्नुभएका खतिवडा २०६८ सालदेखि नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् र अञ्चल कमिटी सदस्य हुनुभयो । हाल नेकपा एमालेको १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ । खतिवडाका समकक्षी र कनिष्टहरू पार्टी पदाधिकारीसम्मको जिम्मेवारीमा पुगिसकेका छन् । तर उहाँले कहिल्यै पार्टीप्रति गुनासो गर्नुभएको छैन  ।

यो पनि पढ्नुहोस !!

यी हुन्, निवर्तमान सांसद घनश्याम खतिवडाका पहलमा मोरङ १ मा भएका विकासका कार्यहरु

खतिवडा २०४९ देखि २०५४ सम्म लेटाङ गाविसको अध्यक्ष हुँदा २०५४ सालमा स्थानीय तहमा उत्कृष्ट काम गर्ने गाविस अध्यक्षका रूपमा स्थानिय विकास मन्त्रालयबाट समानित हुनुभएको थियो । स्थानीय निकायको विकास निर्माणमा राम्रो अनुभव बटुल्नु भएका खतिवडा गाविस राष्ट्रिय महासङ्घको संस्थापक केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै अध्यक्षसमेत हुनुभयो ।

सहकारीको छाता सङ्गठन नेफस्कुनको महासचिव र पछि सल्लाहकारको भूमिकासमेत निर्वाह गर्नुभयो । स्थानीय निकायमा जनप्रतिनिधि रहँदा होस् या प्रतिनिधिसभा सांसद हुँदा विकास निर्माणमा उहाँको उत्तिकै देन रहेको छ ।

उत्तरी मोरङका साझा समस्यालाई सदनसमक्ष प्रस्तुत गर्ने खतिवडालाई प्रभावशाली नेताका रूपमा पनि लिन सकिन्छ । यही कारण उहाँले अन्य पार्टीमा आस्था राख्ने मतदाताहरूको मत पाउने सम्भावना देखिन्छ ।

विगतका अधुरा कामहरू पूरा गर्न र सिँचाई, खानेपानी, शिक्षा, पर्यटन, सडकलगायत क्षेत्रमा नयाँ काम गर्ने उहाँको प्रतिबद्धता छ । सांसद कोषबाट आउने बजेटभन्दा बढी डेढ अर्बसम्मको बजेट आफ्नो निर्वाचन क्षेत्रमा पार्न सफल निवर्तमान सांसद खतिवडालाई पुन  निर्वाचित गराएर भावीको  मन्त्रीको  रूपमा हेर्न चाहेको मतदाताहरू बताउँछन् ।