राजविराज,२ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताउनु भएको छ। आज सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै यादवले सो कुरा बताउनु भएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभामा ९ र प्रदेश सभाका लागि २१ सिट मात्रै दिएर पूरै देशमा गठबन्धनलाई समर्थन गर्ने रणनीतिसहित पार्टीलाई समाप्त पार्न खोज्ने कांग्रेस र माओवादी केन्द्रको चक्रव्यूहबाट निस्कन सफल भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा सदस्य पदमा ८१ र प्रदेश सभामा १४५ स्थानमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ।’
अध्यक्ष यादवले भन्नुभयो, ‘संसद् विघटनपछि देशमा लोकतन्त्रको रक्षा र जनताको अधिकारका लागि जसपा नेपाललगायत पाँच दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा सहभागी भयौँ। तर, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जसपालाई धोका दिए। जसको ज्वलन्त उदाहरण जनकपुर, विराटनगर र वीरगन्जलाई लिन सक्छौँ।’
अध्यक्ष यादवले मधेसलाई समृद्ध बनाउन र मधेसीहरूको अधिकार स्थापित गर्न जसपाले मात्रै सक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशको मार्गदर्शन गर्ने जिल्लाका रूपमा चिनिएको सप्तरीबाटै पुनःचुनाव जितेर मधेस र देशलाई समृद्ध बनाउने छु ।’



















