झापा,३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग कुनै नीति र भिजन नभएकाे बताउनुभएकाे छ ।
झापाको धुलाबारीमा बुधबार आयाेजित राप्रपा र एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले कांग्रेससँग देश बनाउने कुनै भिजन नभएकाे बताउनुभयाे ।
एमालेले गरेका कामहरुकाे जस कांग्रेसले लिने गरेकाे उहाँकाे भनाइ छ । अध्यक्ष ओलीले चुनावी घाेषणापत्र समेत भाडाका बुद्धिजिवी लगाएर लेख्ने अवस्थामा कांग्रेस पुगेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे -‘भाडाको बुद्धिजीविले लेखिदिएको घोषणापत्र उहाँहरूले नेपाली जनताको बीचमा छर्नुहुनेछ, त्यो कुनै कांग्रेसको घाेषणापत्र हुने छैन ।’
कांग्रेसले २३-२४ वर्ष सरकारकाे नेतृत्व गर्दापनि एउटा राम्राे काम गर्न नसकेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘पटक-पटक सरकारको नेतृत्व गर्दा कांग्रेसले कुन एउटा राम्रो काम गर्यो देखाउनुस्, २३-२४ वर्ष सरकारको नेतृत्व गरेकाे छ,एउटा राम्राे काम याे गरे भनेर भनाेस्, होइन भने हामीसँग सोधाेस्, हामी मन्त्र पढे जसरी सयौँ कुरा भन्नेछौँ,किशाेरकिशाेरी,बालबालिका,ज्येष्ठ नागरिक,सडकमार्गका लागि के गर्याैं भन्नेछाैं ।’
मृगाैला राेगीहरुका लागि निशुल्क डायलाशिसकाे व्यवस्था एमालेले गरेकाे उहाँले प्रष्ट पार्नुभयाे । कांग्रेसले आफूले गरेकाे भन्दै भ्रमपूर्ण प्रचार गरेकाे अध्यक्ष ओलीकाे भनाइ छ ।
उहाँले चुनावको मुखमा फ्रि भिसा र फ्रि टिकटको आश्वासन बाँड्ने ठगहरुलाई कारबाही हुनुपर्ने बताउनुभयाे । मंगलबार रौतहटमा भएकाे कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमारनेपालले फ्रि भिसा र टिकटको लोभ देखाएर युवाहरुलाई भ्रमित गरेकोप्रति आपती जनाउँदै अध्यक्ष ओलीले कारबाहीकाे गर्नुपर्ने बताउनुभएकाे हाे ।
बारा-४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले प्रचार कार्यलयमा साे क्षेत्रका युवाहरुलाई फ्रि भिसा र टिकटको लोभ देखाएको भन्दै उहाँले निर्वाचन आयोगले तत्काल कारबाही गर्नुपर्ने बताउनुभयाे ।
अहिलेकाे गठबन्धन अन्तैबाट चलेकाे र त्यसले देशकाे पक्षमा कुनै राम्राे काम नगरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । राप्रपाले देशका लागि विवेकपूर्ण निर्णय गर्ने गरेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयो- ‘गठबन्धन कुशुलेका कठपुतली हुन्, कसले नचाउँछ थाहा छैन, राप्रपा देशका लागि विवेकले निर्णय गर्दछ ।’
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव एमालेले बहुमतसाथ जित्ने पनि उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले साे चुनावमा प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ५० सिट जित्ने पनि बताउनुभयाे ।



















