झापा,३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशकाे विकास गर्न एमालेले नै चाहिने बताउनुभएकाे छ । गृह जिल्ला झापामा बिहीबार आयाेजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले इच्छाशक्ति र अठाेट भए देश बनाउन र विकास गर्न सकिँदाे रहेछ भन्ने कुरा आफूले पुष्टि गरेकाे बताउनुभयाे ।
इमान्दार भएर लाग्याे भने देश बनाउँन सकिँदाे रहेछ र विकास गर्न सकिँदाे रहेछ भन्ने कुरा आफूले ३ वर्षमा राम्राेसँग अनुभव गरेकाे उहाँकाे भनाइ छ । अध्यक्ष ओलीले इमान्दार भएर नेतृत्व लाग्ने हाे भने जमिन, प्रकृति र भूगाेल सबैकाे विविधता भएकाे र आफैंमा जीवनमय रहेकाे देशलाई बनाउन सकिने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'इमान्दार भएर नेतृत्व लाग्ने हाे भने देश बनाउन सकिन्छ भन्ने कुरा, २ वर्ष काेभिडले थला पार्दापनि, करिब ३ वर्ष प्रधानमन्त्री भएर चलाउँदा, देश बनाउन मजाले सकिन्छ भन्ने मैले अनुभव गरेँ ।'
नेपालले दबेर बस्ने र विश्वका अघि शीर झुकाउनुपर्ने कुनै कारण नरहेकाे कुरा पनि आफूले पुष्टि गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'म प्रधानमन्त्री हुँदा देशले एउटा आशा र विश्वास पायाे, देश बनाउन सकिने रहेछ, विकास गर्न सकिने रहेछ भन्ने पुष्टि भयाे, यसका लागि एउटा अठाेट चाहिँदाे रहेछ त्याे मैले गरेँ, जनताले भाेगेका तमाम समस्या समाधान गर्न सकिन्छ,उर्बर धर्ती सिंगार्न सकिन्छ, अलिकति मेहनत गर्नुपर्छ, केही वर्ष लाग्छ, केही वर्षभित्र विश्वकै नमुना देश बन्छ, आफूले दबेर बस्नुपर्ने, विश्वका अघि शीर निहुराउनुपर्ने कुनै आवश्यकता छैन ।'
आफूले सरकारमा छँदा कुनै पनि याेजनाका लागि पैसा छैन भनेर हिचकिच नगरेकाे समेत अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'मेराे समयमा मैले पैसा छैन भनिनँ,देशभर भूकम्पपीडितका ७ लाख बढी पक्की घर बनाएर हस्तान्तरण गरेँ, हजाराैं सरकारी भवन, सेनाकाे प्रधान कार्यालय देखि लिएर ठूलाठूला संरचना बनायाैं, संसद् भवन थिएन हामीले सुरु गर्याैं, रंगशालाहरु बने,राजमार्गहरु बने ।'
अस्पताल, विद्यालय, क्याम्पस, विजनेस कम्प्लेक्स बनाएकाे भन्दै उहाँले यसबाट तीब्र गतिमा विकास गर्न सकिँदाे रहेछ भन्ने पनि पुष्टि भएकाे बताउनुभयाे ।
झापाबासीका जनताकाे निर्णयले आफू सरकारकाे नेतृत्व गर्ने ठाउँमा पुगेकाे समेत अध्यक्ष ओलीले स्मरण गर्नुभयाे । 'यस क्षेत्रका जनताकाे निर्णयले राष्ट्रलाई सही बाटाेमा अगाडि बढाउन, देशलाई शान्तिकाे बाटाे सुशासनकाे बाटाे भ्रष्टाचार नियन्त्रणकाे बाटाे विकासकाे बाटाे कस्ताे हुन्छ भन्ने माैका मिलेकाे छ'- उहाँकाे भनाइ छ ।
नेपालमा गरिबी कसरी हटाउने, राेजगारीकाे सृजना कसरी गर्ने, उद्यमशिलताकाे विकास कसरी गर्ने,जनताकाे जीवस्तरमा कसरी परिवर्तन ल्याउने, सुकुम्बासी समस्याकाे समाधान गर्ने, विकास निर्माणका प्रश्नहरु कसरी अगाडि बढाउने यी तमाम प्रश्नहरुमा एमालेले दृष्टिकाेण र विचार राख्ने उहाँले बताउनुभयाे ।
विचार र नीति भएकाे पार्टी एमाले मात्रै रहेकाे बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे - 'एमालेसँग विचार छ, नीति छ, कार्यक्रम छ सिद्धान्त छ, देश अगाडि बढाउने बाटाे छ,कहाँ पुग्ने भन्ने गन्तव्य छ, एमाले मात्र यस्ताे पार्टी हाे ।'
सम्बाेधनका क्रममा अध्यक्ष ओलीले आफ्नाे आन्दाेलनकाल पनि स्मरण गर्नुभयाे । देशलाई जुन बाटाेमा अघि बढाउने भनेर ५२ वर्ष अगाडि आन्दाेलन गरिएकाे थियाे त्याे आन्दाेलन सफलताकाे चरणमा पुगेकाे उहाँले स्मरण गराउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'देश बनाइछाेड्छाैं भन्ने अठाेटसाथ काम अगाडि बढाउँदै गर्दा त्यतिबेला हत्या गरेर, जेल हालेर, दमन गरेर त्याे सपनालाई समाप्त पार्न खाेजिएकाे थियाे, तर यस्ताे समय आयाे जहाँ तपाइँहरुकाे माया, स्नेह र विश्वासले, नेपाली जनताकाे विश्वासले हामी सरकारमा पुग्ने माैका पायाैं, देशकाे विकास कसरी गर्ने भन्ने कुरा हामीले देखायाैं,देश विकास गर्ने कुरा एकैछिनमा हुने हाेइन समय लाग्छ ।'
तर आफूले सरकारकाे नेतृत्व गर्न पाउनेवित्तिकै नयाँ ढंगले देशमा विकासकाे लहर र तरंग सृजना गरेकाे उहाँले स्मरण गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - ' झापामा पक्की बाटाे हाेइन गाडीमै काेदालाे राखेर आउनुपर्थ्याे,पक्की पुल कतै पनि थिएन,पक्की बाटाे कहिँ पनि थिएन, बिजुली कहिँ पनि थिएन, दमक बजार ५०-५५ लाइन टेलिफाेन थियाे,अरु केही पनि थिएन,मैले पहिलाेपटक दमक बजार आएर सभा गर्दा पेट्राेमेक्स बालेर सभा गरेकाे थिएँ ।'
बिजुली, टेलिफाेन, पक्की बाटाे, पक्की पुल जनताकाे सपना रहेकाे भन्दै उहाँले ती सबै सपना विपनामा परिणत भएकाे स्मरण गराउनुभयाे । रतुवा मावामा पुल, गाउँ-गाउँमा बाटा, विद्यालय भवन, क्याम्पस भवन, भ्युटावर, कृषिकाे आधुनिकीकरण गर्ने, नयाँ-नयाँ ढंगले विकासका काम अघि बढाउने काम आफूहरुले गरेकाे बताउनुभयाे ।
नेपाली पुर्खाहरु विद्यान रहेका बताउँदै उहाँले भन्नुभयाे - 'दुनियाँमा अन्धकार हुँदा हाम्रा पुर्खा विद्वान थिए थिए, खाेज अनुसन्धान गर्थे, वेद हाम्रै पुर्खाले लेखे, उपनिषद्, पुराण, मनुस्मृति, विभिन्न दर्शन हाम्रै पुर्खाले लेखेका हुन्, औषधि विज्ञान हाम्रै पुर्खाले गरेका हुन्,सृष्टि के रहेछ भन्ने पनि हाम्रै पुर्खाले सुष्म अध्ययन गरे,ज्ञान विज्ञानकाे आविष्कार गरे ।' त्यसबीचमा औपनिवेशिक युग आएपछि भारत र चीन उपनिवेशकाे जञ्जिरमा बाँधिदा नेपाल दुई ढुंगाकाे तरुल भएर बस्नुपरेकाे उहाँले स्मरण गर्नुभयाे । साेही कारण विगतमा प्रगति हुन नसकेकाे भन्दै उहाँले अहिले त्यस्ताे युग नभएर स्वतन्त्र युगमा प्रवेश गरिसकेकाे बताउनुभयाे ।
देशकाे पुरानाे गाैरवपूर्ण इतिहासलाई सम्झिँदै विकासकाे बाटाेमा अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयाे । विकासलाई अगाडि बढाउन सरकार राम्राे सरकार चाहिने अध्यक्ष ओलीले बताउनुभयाे । भ्रष्टाचार नगर्ने, विकासका लागि काम गर्ने सरकार बनाउनुपर्ने भन्दै उहाँले भ्रष्टाचार नगर्ने विकासका लागि काम गर्ने,सबै जनताकाे संरक्षक भएर काम गर्ने पार्टी एमाले बाहेक अरु काेही नभएकाे प्रष्ट पार्नुभयाे ।
एमालेले के गर्छ भन्ने कुरा व्यवहारमा देखाइरहेकाे भन्दै उहाँले कात्तिक १५ गतेसम्म चुनावी घाेषणापत्र जारी हुने बताउनुभयाे । एमाले विरुद्ध भ्रम फैलाउनेहरु,जनतालाई अल्मल्याउन खाेज्नेहरु गाउँगाउँ पस्न सक्ने भन्दै अध्यक्ष ओलीले भ्रममा नपर्न र सचेत सबै नेता-कार्यकर्ताला आग्रह गर्नुभयाे ।
एमालेकाे उद्देश्य देश बनाउनुभएकाे भन्दै उहाँले हिमाल,चट्टान,हिमताल, नदीनाला, बाेटबिरुवा, जडिबुटी सबै थाेक भएकाे देश नेपाललाई बनाउने अभियानमा एमाले लाग्ने बताउनुभयाे ।



















