धुलिखेल,४ कात्तिक  । काभ्रेका किसानहरुले मल अभावको समस्या समाधान गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले गठबन्धनका नेताहरुले बेइमानी गरेको भन्दै मलको समस्या समाधानका लागि पाँचखाल नगरपालिकालाई आग्रह गरेका छन् ।

समस्या समाधान नभएको खण्डमा अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको पाँचखालका किसान विनोद अधिकारीले बताए ।

साथै पाँचखालका अगुवा किसानहरुले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई आगामी १३ गतेसम्म मलको प्रबन्ध गरिदिन भन्दै ज्ञापनपत्र पनि बुझाएका छन् ।

मल अभाव बनाएर चुनावी मैदानमा आएका सत्ता गठबन्धनका नेताहरु बेइमानी भएको जिल्लाको पाँचखालका किसान विनोद अधिकारीले बताए ।

बिहीबार नारा जुलुससहित पाँचखाल नगरपालिकामा मल अभावको समस्या हल गरिदिन आग्रह गर्दै पुगेका किसानहरुले मलको समस्या समाधान नभए अनिश्चितकालीन बन्दका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

बिहीबार नै मल व्यवस्थानका लागि बनेको संघर्ष समितिका संयोजक अगुवा किसान ज्ञानबहादुर थापाले मल समयमा नै आवश्यकताअनुसार उपलब्ध हुन नसके अगामी कात्तिक १३ गते बाट पाँचखाल नगपालिका र अरनिको राजमार्ग ठप्प बनाइने चेतावनी दिए ।

‘चुनावको मुखमा हामीले कुनै आरोप भन्दा पनि हाम्रो यति ठूलो समस्या देख्ने र हल गर्ने मान्छेको खोजी गर्दै सदरमुकाम धुलिखेल आएका छौ, ‘हामीले रासायनिक मल पाएनौँ त्यो चाहियो, चुनाव कसले जित्छ वा हार्छ हामीलाई मुख्य कुरा भएन तर सरकारले यस्तो लाचाहारी त देखाउनु भएन नि थापाले थपे, ‘किसानका यति सामान्य समस्या हल गर्नु पर्ने राज्य किन मौन छ ? अर्का किसान विष्णु सापकोटाले हाम्रो भोट चाइनेले किन मल ल्याउँन नसकेको भन्दै प्रश्न गरे ? उनले भने, ‘भोट चाहीँ सरकारमा बसेको दुइ वर्ष हुन लाग्यो अनि हाम्रो बारी चाँही बाँझो नै होस भन्ने ? पाँचखाल कै सुनिता दनुवारले भनिन ‘फ्री भिजा होइन पैसा तिरेर मल चाहीएको छ मल, गरिब किसान मारा सरकार मुर्दावाद भन्दै उनी आक्रोशित भइन् ।

मुख्य बाली धान र मकै लगाउने समयमा अत्यावश्क युरिया मलको समस्या देशभरी नै अभाव देखियो । समयमा नै सरकारले युरिया मलको प्रबन्ध गर्न नसक्दा मलको हाहाकार मच्चिएको हो । काठमाडौं उपत्यकामा तरकारीजन्य वस्तुको ३५ प्रतिशत बजार ओगटेको काभ्रेका किसानहरु अन्न बालीमा मल हाल्न नपाउँदा उत्पादनमा ह्रास आएको बताउँछन् ।

पाँचखाल काभ्रे एउटा अन्न तरकारी भण्डारको रुपमा चिनिएको स्थान हो । पाँचखाल उपत्यका कृषि नगरमा चिनिएको पालिका हो ।

अन्न बाली लगाउने समयमा नआएको मल अब आलु तथा अन्य तरकारी लगाउने समयमा पनि नपाइने निश्चित नै भएको पाँचखालकी विमला तिमल्सिनाले बताइन् ।

उनले भनिन् ‘अलिअलि आउँछ, अनि कति पाउनु कति हाल्नु, अब पार्टीको बास बनाउँछन्, कस्तो सरकार होला ? यता प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले चुनावको मुखमा राजमार्ग बन्द नगर्न आग्रह गरिन् । उनले आफ्नो तर्फबाट किसानको मर्का बुझेर माथि जाहेर गर्ने बताइन् ।

यस्तो छ संघर्ष समितिका कार्यक्रम:

  • २०७९ कात्तिक ३ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गर्ने
  • कात्तिक ४ गते विहान ३० मिनेट अरनीको राजमार्ग बन्द गर्ने
  • कात्तिक ५ गते नाराजुलुस गर्ने पाँचखाल परिसर
  • ६ गते पाँचखाल कै कृषि शाखामा धर्ना दिने
  • कात्तिक १३ गतेदेखि सबै वडामा तालाबन्दि र अरनिको राजमार्ग बन्द

यो समाचार नेपालप्रेसमा छापिएको छ ।