कैलाली,६ कात्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन्। धनगढीमा आइतबार सत्ता गठबन्धनको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रममा देउवाले यस्तो बताएका हुन्।
चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै देउवाले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन आजको आवश्यकता रहेको बताए। उनले २००७ सालदेखि गणतन्त्र, संविधान बचाउनका लागि लड्दै आएकाले गठबन्धनलाई जिताउन जरुरी रहेको बताए।
‘संघीय शासन प्रणाली बचाउन सुदूरपश्चिमको एकता आवश्यकता छ। अहिले संविधान बचाउने र सक्नेबीच लडाइँ छ,’ देउवाले भने, ‘अहिले संविधान सक्न र सत्ता गठबन्धनविरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागेका छन्।’ उनले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका छन्।



















