कपिलवस्तु,७ कात्तिक  । राष्ट्रिय सभाका पूर्व सांसद दृगनारायण पाण्डे नेपाली काँग्रेस परित्याग गरी पुुनः एमालेमा प्रवेश गर्नुभएको छ । 

कपिलवस्तु जिल्लाका नेता पाण्डे २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) बाट लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । 

नेता पाण्डेले विगतमा लोकप्रिय पार्टी नेकपा (एमाले) छोडेको घटना आफ्नो राजनीतिक जीवनको गम्भीर पाठ भएको जनाउनुभएको छ । एमाले प्रवेशका अवसरमा आज उहाँले एक वक्तव्य प्रकाशित गरी निःशर्त एमालेमा समाहित भएको जनाउनुभएको छ । पाण्डेले आगामी दिनमा एउटा इमान्दार कार्यकर्ताको रुपमा पार्टीले दिएको जिम्मेवार पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

उहाँलाई नेकपा (एमाले) का केन्द्रीय सदस्यद्वय गिरधारीलाल न्यौपाने, बलराम अधिकारी, कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार वृजेशकुमार गुप्ता, एमालेका कपिलवस्तु जिल्लाका अध्यक्ष डम्मर शर्मा लगायतका नेताहरूले नेकपा (एमाले) कपिलवस्तु जिल्ला कार्यालयमा कार्यक्रम आयोजना गरी  पार्टीमा स्वागत गर्नुभयो ।