काठमाडौ,८ कात्तिक । सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी कार्यक्रम सकेपछि नेकपा एमालेले संसदीय चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट थाल्ने भएको छ। एमालेले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।
आसन्न चुनावलक्षित राष्ट्रव्यापी चुनावी अभियानको प्रथम आमसभा दार्चुलामा हुने एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए। उनले भने, ‘१८ गते दार्चुलाबाट आमसभा उद्घाटन पछि क्रमशः अन्य ठाउँमा पनि सभाहरु हुन्छन्।’ उनका अनुसार १८ गते नै बैतडी र कञ्चनपुरमा पनि चुनावी आमसभा हुने कार्यक्रम तय भएको छ।
सबै ठाउँका आमसभालाई ओलीले सम्बोधन गर्नेछन्। ओलीसङ्गै नेताहरु पनि जानेछन् ।एमालेले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो। यसलाई सुदूरपश्चिमका एमाले नेता तथा कार्यकर्ताले अर्थपूर्ण रुपमा हेरेको जनाएका छन्। ओली नेतृत्वको सरकारको बेला भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र समेटेर नेपालको नक्सा जारी भएको थियो।
यही विषयलाई चुनावमा जनतासामु लगेर ‘चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता ल्याउने’ भन्दै मत माग्न एमालेले यहाँबाट अभियान थालनी गर्न लागेको एमाले दार्चुलाले जनाएको छ। ओली चुच्चे नक्साले जारी भएपछि पहिलोपटक दार्चुला जान लागेका हुन्। यसअघि ०७० सालको चुनावमा गोकुलेश्वरमा आयोजना भएको आमसभालाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका थिए।



















