काठमाण्डाै,९ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्तारूढ गठबन्धन विजयी हुने दाबी गर्नुभएको छ । काठमाण्डाै क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारसमेत रहनुभएका महामन्त्री थापाले सत्तारूढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा विजयी भएर सरकार बनाउने दाबी गर्नुभएकाे हो ।
आज बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने जिकिर गर्नुभयाे । महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारूढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि बताउनुभयाे । जनमतको कदर हुने गरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘गएको पाँच वर्ष खेर गयो । अबको पाँच वर्ष खेर जान दिनु हुन्न । त्यो जान नदिने जिम्मेवारी हाम्रो हो । मैले त नेताहरूलाई भनेको छु– सात वटा प्रदेशमा हाम्रो सरकार बन्ने हो । सङ्घमा पनि हाम्रो सरकार बन्ने हो ।’
महामन्त्री थापाले आउँदाे चुनावपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि बताउनुभयाे । त्यसका लागि पार्टीभित्रका साथीहरूले आफूलाई साथ दिनुपर्ने उहाँको भनाइ थियो ।



















