हेटौँडा,१६ कात्तिक । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् गठबन्धनको तर्फबाट मकवानपुर-२ का उम्मेदवार विरोध खतिवडाले आफू र माधव नेपाललाई हराउन केपी शर्मा ओलीले १० करोड दिएर मान्छे खटाएको दाबी गरेका छन् ।
मकवानपुरको हेटौँडामा भएको कार्यक्रममा बोल्दै खतिवडाले आफूलाई हराउन केही व्यक्तिहरू केपी ओलीले पठाएको पैसा बोकेर परिचालन भएको सूचना आफूले पाएको बताए ।
‘विरोध र माधवलाई जसरी पनि यो चुनावबाट हराउनुपर्छ भनेर केही मान्छे लागिपरेको सुनेको छु ।’, खतिवडाले भने, ‘एमालेका अध्यक्ष केपी ओलीबाट दश करोड रुपैंया बुझेर केही मान्छे मलाई हराउन लागेका छन् अरे ।’
खतिवडाले आफूलाई हराउने एमाले अध्यक्ष ओली जति पनि खर्च गर्न तयार छन् भन्ने सुन्नमा आएको बताए । ‘पैसा बुझेर हराउन लागेकाहरू मेरा गोप्य कुरा तथा कमजोरी पत्ता लगाउन खटिएका छन् भन्ने सुनेको छु ।’ खतिवडाले भने ।



















