काठमाडौं,१६ कात्तिक । नेकपा माओवादी केन्द्रका राज्य समिति सदस्य सहित ४१ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा माओवादी केन्द्रका उपत्यका विशेष राज्य समिति सदस्य चन्द्र बस्नेत, जिल्ला समन्वय समिति सदस्य दामोदर बस्नेत, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तिलक महत, गुल्मी इस्मा गाउँ कमिटी वाईसीएलका सदस्य धनबहादुर बस्नेत सहितका ४१ जना नेता, कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
उहाँहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले उहाँहरूलाई स्वागत गर्नुभएको हो ।
एकीकृत समाजवादीका ४६१ नेता कार्यकर्ता एमाले प्रवेश
नेकपा एकीकृत समाजवादी तनहुँ सचिव दुर्गाकुमार श्रेष्ठसहित ४६१ जना एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरूमा श्रेष्ठसहित कार्यालय सदस्य एवं युवा सङ्घ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका अध्यक्ष कमल गैह्रेलगायत जिल्ला कमिटीका १७ जना सदस्य छन् ।
यस्तै शुक्लागन्डकीको सिङ्गो नगर कमिटी, सम्पूर्ण वडा कमिटी तथा युवा सङ्घ तनहुँका अध्यक्ष जीवन भट्टराई सहित युवा सङ्घको सिङ्गो जिल्ला कमिटी टिम पनि एमालेमा फर्केको छ ।
तनहुँमा भएको कार्यक्रममा उनीहरूलाई नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार किरण गुरुङ, एमाले पोलिट्व्युरो सदस्य एवं तनहुँ जिल्ला इञ्चार्ज टुकराज सिग्देल लगायतले स्वागत गरेका थिए ।
तनहुँमा स्थानीय तहको चुनावदेखि नै गठबन्धनका अन्य दलले एकीकृत समाजवादीको अवमुल्यन गरेको तर पार्टी नेतृत्वले त्यसमा कुनै ध्यान नदिएका कारण पार्टी छाड्नु परेको श्रेष्ठले बताए ।
तनहुँमा कुनै सिट नपाए पनि एकीकृत समाजवादीले उम्मेदवार उठाएको थियो । तर पार्टीको नेतृत्वले उनीहरूलाई उम्मेदवारी फिर्ता गर्न लगाएपछि एकीकृत समाजवादीका जिल्ला नेता तथा कार्यकर्ता असन्तुष्ट छन् ।



















