कास्की,२१ कात्तिक । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिए सँगै मतदाताहरुले आफ्फुले चाहेको दल वा उम्मेदवारहरुलाई मत हाल्न पाउने छन् । तर आफु उम्मेदवार भएपनि केही उम्मेदवारहरुले भने आफैँलाई भोट लागाउन नपाउने भएका छन् । यसरी मतहाल्न नपाउनेमा सत्ता गठबन्धनका उम्मेदवारहरु धेरै जसो रहेका छन् ।
चितवनको क्षेत्र नम्बर ३ मा मतदाता नामावली भएका नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल एकाएक गोरखाबाट उम्मेदवार बनेपछि गण्डकीका लागि चुनावको केन्द्रबिन्दु गोरखा बनेको हो । दाहाल अहिले गोरखाको निर्वाचन क्षेत्र नं. २ मा चुनाव प्रचारप्रसारमा व्यस्त छन् । मतदातासँग घरदैलो गर्दै मत मागेका दाहालले आफैँलाई भने मतदान गर्न पाउने छैनन् । गोरखामा उनको मतदाता नामावली नभएका कारण उनले मतदान गर्न नपाउने जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । यस्तै, गोरखा- २ (२) मा उम्मेदवार बनेका कांग्रेसका सुरेन्द्रराज पाण्डे पनि त्यही क्षेत्रका मतदाता होइनन् । उनले पनि आफूलाई मतदान गर्न पाउने छैनन् ।
यसैगरी, कास्की क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले पनि आफैँलाई मतदान गर्न पाउने छैनन् । बरालको मतदात क्षेत्र भने क्षेत्र नम्बर १ आर्वा हो । सत्ता गठबन्धनको निर्णयअनुसार क्षेत्र नं. २ आफ्नो पोल्टामा परेपछि आफ्नो निर्वाचन क्षेत्रभन्दा अर्कोमा गएर चुनाव लड्नुपरेको बराल बताउँछन् ।
त्यस्तै, कास्की क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका सत्ता गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछानेले पनि आफू स्वयंलाई मतदान गर्न पाउने छैनन् । उनको मतदात नामावली भने क्षेत्र नं. १ (१) मा छ । लामिछाने पनि पार्टीको निर्णयअनुसार अर्को क्षेत्रमा आएर उम्मेदवार बनेको बताउँछन् । त्यस्तै, कास्की क्षेत्र नम्बर १ (१) मा सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका माओवादीका दीपक कोइरालाको पनि मतदाता नामावली अर्को क्षेत्रमा छ । कोइरालाको निर्वाचन क्षेत्र नं. २ (२) मा नामावली छ ।
यसैगरी क्षेत्र नम्बर ३ (१) मा सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका माओवादीका दुर्गादत्त भण्डारी पनि ३ (२) का भोटर हुन् । भण्डारीले पनि आफू स्वयंलाई मतदान गर्न पाउने छैनन् । पार्टीको निर्णय भन्दै उनीहरूजस्तै गण्डकी प्रदेशमा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर गएर चुनाव लड्नेहरू प्रशस्त छन् ।
अधिकांश केन्द्रीयस्तरका नेताहरू आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेका हुन् । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभाको चुनाव लडेका सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज गुरुङले पनि आफैँलाई मतदान गर्न पाउने छैनन् । क्षेत्र नम्बर १ मा मतदाता नामावली भएका गुरुङले पार्टीको निर्णय र कार्यकर्ताको मागअनुसार क्षेत्र नम्बर २ मा उम्मेदवार बनेको बताएका छन् । गुरुङ कांग्रेस केन्द्रीय उपसभापतिसमेत हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका १५ जना उम्मेदवारले आफैँलाई मतदान गर्न पाउने छैनन् । नवलपुर- १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शशांक कोइरालाले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । काठमाडौंमा मतदाता नामावली भएका कोइराला नवलपुरबाट निर्वाचन लड्दै छन् । यस्तै, सोही जिल्लाको क्षेत्र नम्बर २ (२) मा सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका नेकपा एसका गोपाल खनालले पनि मतदान गर्ने छैनन् । उनको मतदाता नामावली २ (१) मा छ । यसैगरी, बाग्लुङ- २ बाट उम्मेदवार बनेका माओवादी केन्द्रका देवेन्द्र पौडेल पनि आफैँलाई मतदान गर्ने छैनन् भने बाग्लुङ- १ बाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चा पार्टीका चित्रबहादुर केसीले पनि आफैँलाई मतदान गर्ने छैनन् ।
त्यस्तै, तनहुँ- २ मा उम्मेदवार बनेका कांग्रेसका शंकर भण्डारी र २ नम्बर क्षेत्रको प्रदेशसभा १ मा उम्मेदवार बनेका माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । आफ्नो मतदाता नामावली एकतिर भए पनि अधिकांश नेताले पार्टीको टिकट जता सजिलो हुन्छ त्यतै लिने भएकाले मतदान गर्न नपाउने निर्वाचन कार्यालयले जनाउँदै आएको छ । कान्तिपुरबाट



















