धरान,२५ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धरानको खानेपानी समस्या समाधान गर्न नेकपा एमाले मात्रै सक्षम रहेको बताउनुभएको छ ।
आज धरानमा भएको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानीलाई दिर्घकालिन समाधान गर्न एमालेको सरकार बन्नुपर्ने बताउनुभएको हो । उहाँले धरानलाई खानेपानीको व्यवस्था सप्तकोशीको पानी पम्प गरेर वा लेउती सुरुङ बनाएर गर्ने बताउनुभयो ।
धरान-५ नं. वडाको देउरालीको वस्तीलाई खोलाबाट जोगाउन बलियो तटबन्धन निर्माण गर्ने र अव्यवस्थित बसोबासीलाई धनिपूर्जा दिइने बताउनुभयो । नेकपा एमाले र जसपाको तालमेल भएको हुनाले अशोक राईलाई एमालेले भोट दिनुपर्ने बताउनुभएको छ ।
नेकपा एमालेले अघि सारेको उम्मेदवारलाई जिताएर पठाउनुपर्ने भन्दै राष्ट्रिय आवश्यकताका लागी तालमेल गरिएको बताउनुभयो । उहाँले स्वतन्त्रको नाममा देशमा अराजकता बढ्दै गएको तथा देशी विदेशी शक्तिहरुले विभिन्न नाममा चलखेल गरिरहेकोले जनता चनाखो हुनुपर्ने समेत बताउनुभयो ।



















