काठमाडौं,१ मंसिर । दोलखाबाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण सिवाकोटीले देश र जनताको हित विपरीत काम गर्नेलाई मत दिन नहुने बताउनुभएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–७ मकैवारिमा बिहीबार आयोजित चुनावी कार्यक्रममा बोल्दै सिवाकोटीले मङ्सिर ४ को निर्वाचनमा जनपक्षीय उम्मेदवारलाई भोट दिन आह्वान गर्नुभयो । उहाँले मत हाल्नु अघि सोच विचार गर्न मतदातालाई अनुरोध गर्नुभयो ।
सिवाकोटीले समाज परिवर्तनको लागि लागेका भन्ने माओवादीलाई एउटा मात्र समाज परिवर्तनको लागि गरेको काम देखाउन चुनौती दिनुभयो । वर्गीय विभेद अन्त्यको लागि गरेको एउटा मात्र काम देखाउन म चुनौती दिन्छु, माओवादीले एउटा पनि विकासको काम गरेको थिएन, गरेको छैन र गर्दा पनि गर्दैन’, उहाँले भन्नुभयो ।
माओवादी भित्र एक खालका मानिस विध्वंस पक्षमा र अर्काथरि शान्तिका पक्षमा रहेको उहाँले बताउनुभयो । शान्तिको पक्षमा रहेका माओवादीलाई एमालेमा आउन उहाँले अनुरोध गर्नुभयो । माओवादीका नेताहरू अहिले आफू र आफ्ना सन्तानको बारेमा मात्र चिन्तित भएको सिवाकोटीले प्रष्ट पार्नुभयो ।
देशको विकास र समृद्धिको लागि एमालेलाई मत दिन र एमालेको पक्षमा जनमत जुटाउन लाग्न उहाँले अनुरोध गर्नुभयो । जनताको माग सम्बोधन गर्नकै लागि आफू पार्टीबाट उम्मेदवार बनेर आएको उहाँले प्रष्ट पार्नुभयो ।
समृद्ध दोलखा निर्माणको लागि आफू प्रतिबद्ध भएर लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । एमाले जनताको काम गर्नका लागि सरकारमा जाने उहाँले प्रष्ट पार्नुभयो ।




















