बाजुरा,५ मंसिर । बाजुरामा नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुका नेताकाे हत्या गरिएकाे छ ।
अनेरास्ववियु सचिवालय सदस्य, अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष तथा बाजुरा क्याम्पसका स्ववियु सभापति चेतन अयडीको कुटपिट गरी हत्या गरिएकाे छ ।
कुटपिटबाट गम्भीर घाइते भएका त्रिवेणी नगरपालिका-७ का अयडीलाई उपचारका लागि बयलपाटा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घाेषणा गरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिनुभयाे ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे क्रममा आइतबार दिउँसो त्रिवेणी-७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीलाई गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका बताइएकाे छ । राति आफ्नै घरमा सुतेका बेला घर तोडफोड गरि गठबन्धनका कार्यकर्ताले अयडीलाई कुटपिट गरेर हत्या गरेका एमाले कार्यकर्ताले जनाएका छन् ।
त्रिवेणी-७ मा मतदान भइरहेका बेला नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाएकाे थियाे । गाेली लागेर सञ्जिव अयडीको घटनास्थलमै ज्यान गएकाे थियाे । सञ्जिवको मृत्यु भएपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्तामाथि कुटपिट गरेका बताइएकाे छ ।




















