काठमाडौं,१६ मंसिर  । नेकपा एमालेका सचिव रघुवीर महासेठले विगतमा केपी शर्मा ओली नेतृत्वकाे सरकारले गरेको कामलाई देखेर मधेसी जनताले एमालेलाई मधेसमा पहिलाे पार्टी बनाएकाे बताएका छन् ।

प्रेस चौतारी धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महासेठले ओली प्रधानमन्त्री हुँदा मधेस प्रदेशमा मात्रै विकास निर्माणका दुई हजारभन्दा बढी योजनाहरू ल्याएर लोकप्रिय काम गरेकाले मधेसका जनताले अहिले विश्वास गरेर एमालेलाई मत दिएको बताए ।

धनुषा निर्वाचन क्षेत्र ४ बाट निर्वाचित महासेठले कांग्रेसले मधेसको हितमा आजसम्म कुनै पनि काम नगरेको आरोप लगाए । एमालेले केन्द्र र प्रदेशमा अहिलेसम्म सरकार बनाउने कुनै तयारी नगरेको बताउँदै महासेठले समानुपातिक तर्फको सबै मतपरिणाम आएपछि मात्रै सरकार बनाउने विषयमा पार्टीले आवश्यक निर्णय लिने बताए ।

उनले अब बन्ने सरकारले तीन महिनाभित्र अंगिकृत नागरिकका सन्तानलाई नगरिकता दिने प्रावधान नल्याए मधेसमा आन्दाेलन गर्ने बताए ।