काठमाडौँ,१६ मंसिर । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताको हल्ला निराधार भएको दाबी गरेकाे छ । माओवादीसँग एकताकाे हल्लामा कुनै सत्यता नभएकाे एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले शुक्रबार विज्ञप्तिमार्फत प्रष्ट पार्नुभएकाे छ । 

'विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यममा भैरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र ) बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौं कि यो प्रचार पूर्णत: निराधार हो, यसमा कुनै सत्यता छैन ।'

हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाे उल्लेख गर्दै महासचिव भुसालले त्यस्तो भ्रममा नपर्न अनुराेध समेत गर्नुभएकाे छ । 'नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ, तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता र सम्वाद केही पनि भएको छैन, हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ'- विज्ञप्तिमा लेखिएकाे छ ।

cpn_us_nZTNKSkQxz