काठमाडाैं, २० मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे समानुपातिकतर्फकाे मतगणना पनि सकिएकाे छ ।

प्रतिनिधि सभा र प्रदेश सभाकाे समानुपातिकतर्फकाे मतगणना मंगलबार सकिएकाे निर्वाचन आयाेगले जनाएकाे छ । यद्यपि समानुपातिकतर्फ दलले प्राप्त गरेको मतलाई हिसाब गरेर अन्तिम टुंगो लगाउन भने बाँकी रहेकाे आयाेगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयाे । बुधबारसम्म यसलाई टुंगाे लगाइने उहाँले बताउनुभयाे ।

प्रत्यक्षतर्फ र समानुपातिकतर्फकाे अन्तिम मतपरिणाम आयाेगकाे वेबसाइटमा राखिएकाे छ । अन्तिम मतपरिणाम अनुसार एमालेले प्रतिनिधि सभाकाे समानुपातिकतर्फ कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएकोमा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । एमालेले नेपाली कांग्रेसले भन्दा १ लाख ३० हजार ४१६ मत बढी पाएकाे छ ।

आयाेगका अनुसार दोस्रो स्थानमा रहेको कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्र ११ लाख ७५ हजार ६८४ मतसहित तेस्राे बनेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ३० हजार ३४४ मत ल्याएर चाैथाे बनेकाे छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१३ र जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत पाएर क्रमश: पाँचाैं,छैटाैं र साताैं नम्बरमा छन् । यी ७ दल मात्र राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । प्रतिनिधि सभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने प्रावधान छ ।

नेकपा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७२२ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार ३६७ मत पाएका छन् । एकीकृत समाजवादी, लाेसपा लगायत दल भने राष्ट्रिय पार्टी बन्न असफल भएका छन् । बाँकी दलले १ लाख भन्दा कम मत पाएका छन्।

कम्तीमा ३ लाख १६ हजार ८०२ प्राप्त गर्न नसक्ने दलले समानुपातिकतर्फ कुनै सिट पाउने छैनन् । कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड मत प्राप्त गर्न सकेका दल मात्र राष्ट्रिय पार्टी हुने प्रावधान छ । यसरी हेर्दा ७ दल मात्र राष्ट्रिय पार्टी हुने देखिन्छ । कुल सदर मतकाे ३ प्रतिशत थ्रेसहाेल्ड मत प्राप्त गरेका आधार समानुपातिककाे सिट संख्या बाँडफाँड हुन्छ ।

प्रत्यक्षतर्फकाे मतगणना भने साेमबार सकिएकाे छ । प्रत्यक्षतर्फ कांग्रेस ५७ सिट जित्दै पहिलो दल बनेको छ। एमालेले ४४ सिट जितेर दाेस्राे दल बनेकाे छ । 

माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले समान ७-७, तथा लाेसपाले ४ र नागरिक उन्मुक्तिले ३ सिट जितेका छन् । जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले समान १-१ सिट जित्दा ५ जना स्वतन्त्र उम्मेदवार प्रत्यक्षतर्फ विजयी भएका छन् ।