झापा,२१ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस संसदीय दलको नेतृत्व व्यक्तिको नभई एजेण्डाको हुनु पर्ने बताउनुभएको छ । 

प्रेस युनियन झापाले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कांग्रेसमा युवा पुस्ता एजेण्डा सहित आएकोले युवा पुस्तालाई नै नेतृत्व छाड्न पार्टी सभापति लगायतका नेतालाई आग्रह गर्नुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताको दौडमा नआउन सुझाव दिनुभयो ।   

शर्माले कांग्रेस पार्टी भित्र युवा पुस्तालाई अवसर दिनुपर्नेमा जोड दिनुभयो । ‘अब पनि प्रतिस्पर्धामा जुट्नुभन्दा सबैलाई अवसर दिने काममा लाग्नुपर्छ, पाँच पटक प्रधानमन्त्री भइसक्नु भएका उहाँले अब फेरि म प्रधानमन्त्री हुन्छु भन्नुभन्दा पार्टीका अन्य नेतालाई पनि अवसर दिनुपर्छ’, शर्माले भन्नुभयो । 

महामन्त्री शर्माले आफूले संसदीय दलको नेताको रूपमा अर्का महामन्त्री गगन थापालाई प्रस्ताव गरेको प्रष्ट पार्नुभयो । ‘संसदीय दलको नेता गगनजीलाई बनाउनुपर्छ भन्ने मेरो प्रस्ताव छ’, शर्माले भन्नुभयो । 

गगन थापालाई कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्री बनाउन सक्ने हो भने राजनीतिमा तरंग आउने उहाँले बताउनुभयो । यसले नेपालको रानीतिरमा पनि परिवर्तन ल्याउने उहाँले दाबी गर्नुभयो । 

शर्माले अब पनि गठबन्धन सरकार बन्ने र त्यो कांग्रेसकै नेतृत्वमा बन्नु पर्ने बताउनुभयो । गठबन्धन सरकारले पाँच वर्षसम्म काम गरेर स्थायित्व दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।  

उहाँले तत्काल बन्ने सरकारमा आफू सहभागी नहुने पनि प्रष्ट पार्नुभयो । अहिले आफू सरकारमा जाने भन्दा पनि कांग्रेस नेतृत्वमा सरकार बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको शर्माले बताउनुभयो ।