विराटनगर,२२ मंसिर  । नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारले कांग्रेस र नेकपा एमाले मिल्नुपर्ने बताउनुभएकाे छ ।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेता गच्छदारले देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि कांग्रेस र एमालेको संयुक्त सरकार बन्नुपर्ने बताउनुभयाे । 

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे परिणामले देश अस्थिरतामा जान सक्ने चिन्ता बढाएकाे भन्दै उहाँले राजनीतिक स्थायित्व र विकास पनि दुबै पार्टीको संयुक्त प्रयासबाट मात्र सम्भव हुने बताउनुभयाे ।

कुनै पनि दलकाे बहुमत नआउनुले खतरा उत्पन्न गरेकाे नेता गच्छदारले बताउनुभयाे । 'सत्ता गठबन्धनलाई बहुमत छ, तर नि ५ वर्ष ढुक्कले सरकार चलाउन र अस्थिरतालाई अन्त्य गर्न कांग्रेस र एमाले जस्ता ठूला दल मिलेर सरकार बनाउनुपर्छ'- उहाँकाे भनाइ छ ।

सुनसरी-३ मा एमालेकी भगवती चौधरीसँग प्रतिनिधि सभा सदस्यमा हार्नुभएका नेता गच्छदारले माओवादीलाई प्रतिपक्षमा राखेर कांग्रेस र एमालेले अरु सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने बताउनुभयाे ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवाकाे विकल्प नभएकाे समेत उहाँले बताउनुभयाे । अहिले नै पुस्तान्तरण सम्भव नभएकाले सभापति देउवाले नचाहेसम्म गगन थापा वा अरु प्रधानमन्त्री बन्ने कुरा असम्भव रहेको गच्छदारकाे दाबी छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले ४ हजार मत सूर्यमा हाल्न लगाएकाले आफू हारेकाे समेत उहाँले बताउनुभयाे । सञ्चारकर्मीकाे जिज्ञासाकाे जवाफ दिँदै नेता गच्छदारले अझै १० वर्ष आफू राजनीतिमा सक्रिय हुने समेत बताउनुभयाे ।