✍️ सुसन धमला

काठमाडौं । गठवन्धन गरेर कांग्रेस र माओवादीले काँध थापिदिएको थिएन भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले एक सीट पनि नजित्ने तथ्यांकले देखाएको छ । एस पार्टीले प्रत्यक्षमा १० सीट जितेको छ । १० मध्ये कुनै पनि सीट माधवको पार्टीले आफ्नै बुँताले जितेको देखिँदैन ।

माधवको पार्टीले समानुपातिकमा तीन प्रतिशत मत ल्याएर राष्ट्रिय पार्टीको मान्यता हासिल गर्न सकेन । यो पार्टीले १८ क्षेत्रमा उम्मेदवारी दिएको थयो । १८ उम्मेदवारले पाएको कूल मतभन्दा समानुपातिकमा कलमले पाएको मत घटी छ । यसको अर्थ हो– नेकपा एस गठवन्धनको भोट चुसेर मात्र बाँच्न सक्यो । त्यसैले कांग्रेस र माओवादीका कैयन नेताहरुले नेकपा एसलाई परजीवी पार्टी भन्दै आलोचना समेत गरेका छन् ।

नत्र, माधवले पनि हार्ने

माधवको १० सीट आउनुमा मुख्य गरी कांग्रेसको भूमिका भएको चुनावी तथ्यांकले देखाउँछ । १० सीट आउनुमा माओवादीको कुनै भूमिका देखिँदैन । किनभने माधवको पार्टीले जितेको दसवटै सीटको समानुपातिकमा कांग्रेस अगाडि छ ।

माधव नेपालले रौतहट क्षेत्र नम्बर १ बाट ३३ हजार ५२२ मत ल्याएर जित्नुभयो । यो क्षेत्रमा उहाँको पार्टीको वास्तविक अवस्था के छ त ? समानुपातिकको मतले देखाउँछ । यो क्षेत्रमा माधवको पार्टीको कलम चिन्हले सिर्फ नौ हजार ५७८ मत ल्याएको छ ।

आफ्नो पार्टीको वास्तविक भोटभन्दा २३ हजार ९४४ भोट धेरै ल्याएर जित्नुभयो । कांग्रेस र अरुको भोट नगएको भए माधवले चुनाव जित्न सम्भव थिएन । यो क्षेत्रमा माओवादीको भोट सिर्फ दुई हजार ७९१ छ । यो तथ्यांकले के प्रष्ट पार्छ भने माधवले कांग्रेसको निगाहा र भोटले चुनाव जित्नुभएको हो

माधवकै हालमा किसान र प्रेमबहादुर

माधवको पार्टीका अर्का सांसद् कृष्णकुमार श्रेष्ठ किसान बारा ४ बाट ३० हजार ३४१ मत ल्याएर निर्वाचित हुनुभयो । यो क्षेत्रमा पनि कलमको हालत पतला देखिन्छ । समानुपातिकमा यो क्षेत्रमा कलमले चार हजार ६९१ मत मात्र ल्याएको छ । अरु पार्टीको २५ हजार ६५० मत थपिएर कृष्णकुमार निर्वाचित हुनुभएको प्रष्ट देखिन्छ । गठवन्धन थिएन भने कृष्णकुमारको हालत पनि माधवकै जस्तो हुने रहेछ । अर्थात्, निश्चित रुपमा हार्नुहुने थियो ।

डोटीमा पनि कलमको हालत उस्तै छ । यहाँ कलमका उम्मेदवार प्रेमबहादुर आले २७ हजार २१० मत सहित विजयी हुँदा कलममा दुई हजार ३७३ मत मात्र खसेको छ । यहाँ माओवादी र कांग्रेसको मत थपिएकाले प्रेमबहादुर विजयी हुनुभएको प्रष्ट देखिन्छ । गठबन्धन नभएको भए प्रेमबहादुरको हालत पनि माधवको जस्तै हुने देखिएको छ ।

राजेन्द्र, मेटमणि र शेरबहादुरलाई माओवादीको पनि योगदान

धादिङ १ बाट कलमबाट राजेन्द्रप्रसाद पाण्डे ३६ हजार १८ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँलाई चाहिँ कांग्रेसका साथै माओवादीको पनि राम्रै योगदान भएको मान्न सकिन्छ । किनभने यो क्षेत्रमा कांग्रेसले समानुपातिकमा १६ हजार र माओवादीले १५ हजारभन्दा केही बढि मत ल्याएको छ । जबकी समानुपातिकमा कलमले सिर्फ ६ हजार ३५ मत मात्र पाएको छ ।

दाङ २ बाट मेटमणि चौधरीले २६ हजार ५७६ मत ल्याएर जित्नुहुँदा समानुपातिकमा कलमको तीन हजार २१८ मत मात्र आएको छ । यहाँ कांग्रेसले १५ हजार र माओवादीले ११ हजार भन्दा धेरै मत ल्याएको छ । अर्थात्, राजेन्द्रलाई झैं मेटमणिको विजयमा कांग्रेस बाहेक माओवादीको पनि राम्रै योगदान देखियो ।

अछाम १ मा माधवको पार्टीले समानुपातिकमा पाएको मत दुई हजार ७४७ मत पाएको छ तर कलमका विजयी उम्मेदवार शेरबहादुर कुँवर १९ हजार ५३४ मत सहित विजयी हुनुभयो । यहाँ शेरबहादुरलाई जिताउनमा कांग्रेस र माओवादी दुबैको योगदान देखिएको छ । समानुपातिकमा कांग्रेसले १४ हजार बढी मत ल्याउँदा माओवादीले सात हजार भन्दा केही बढि मत पाएको छ ।

बझाङबाट कलमका उम्मेदवार भानुभक्त जोशी २८ हजार ४१३ मत सहित निर्वाचित हुनुभयो । जहाँ कलम चिन्हले पाँच हजार एक मत मात्र पाएको छ । भानुभक्त कांग्रेससँगै माओवादीले राम्रो योगदान गरेको देखिन्छ । समानुपातिकमा कांग्रेसले १९ हजार बढी मत पाउँदा माओवादीले आठ हजार बढी मत पाएको छ ।

धनबहादुर र प्रकाशलाई कांग्रेस भन्दा माओवादीको योगदान बढी

डोल्पामा कलमको समानुपातिक मत एक हजार ८२४ मात्र पाएको छ तर कलमबाट विजयी धनबहादुर बुढाले ११ हजार २९२ मत ल्याउनुभएको छ । धनबहादुरको विजयमा कांग्रेसका साथै माओवादीको पनि राम्रो योगदान देखिएको छ । समानुपातिकमा कांग्रेसले तीन हजार भन्दा केही बढी मत ल्याउँदा माओवादीले चार हजार बढी मत पाएको छ ।

सल्यानमा कलमले पाँच हजार ९७० मत ल्याउँदा त्यसका उम्मेदवार प्रकाश ज्वालाले ३५ हजार ७०७ मत ल्याएर जित्नुभयो । यहाँ माओवादीले समानुपातिकमा २१ हजार मत ल्याउँदा कांग्रेसले १९ हजारभन्दा केही बढी मत ल्याएको छ ।

समानुपातिकमा माओवादीभन्दा कलम अघि

दैलेखमा कलमका अम्मरबहादुर थापा १८ हजार २९७ मत ल्याएर निर्वाचित हुनुभयो । यो मात्र यस्तो क्षेत्र हो जहाँ समानुपातिकमा माओवादीले भन्दा कलमले धेरै मत पाएको छ । यहाँ माओवादीले दुई हजार भन्दा केही बढी मत पाउँदा कलमले तीन हजार १६६ मत पाएको छ । कांग्रेसले १५ हजार बढी मत ल्याएको छ । अर्थात्, दैलेखमा पनि कलमलाई कांग्रेसले पूर्ण रुपमा भरथेग गरेको देखिन्छ ।

माधवका उम्मेदवारले हारेको क्षेत्रमा पार्टीको अवस्था

माधवको पार्टीका आठ उम्मेदवारले हार व्यहोरेका छन् । हारेका क्षेत्रमा पनि माधवको पार्टीले राम्रो मत बटुल्न नसकेको तथ्यांकले देखाउँछ । जितेको ठाउँमा पनि पार्टीले राम्रो मत ल्याएको छैन । हारेको ठाउँमा नआउनु स्वभाविक नै मान्न सकिन्छ । तर, हारेकामा कस्ता जनमत बटुल्यो त यो चासोको विषय हो ।

इलाम १ बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल २३ हजार ८९ मत ल्याएर हार्नुभयो । जबकी यहाँ समानुपातिक तर्फ कलम चिन्हमा आठ हजार २१ मत मात्र आएको छ । कांग्रसले १६ हजार बढी मत पाएको छ । यहाँ समानुपातिकमा कलम भन्दा माओवादी पछि परेको छ । माओवादीले एक हजार ६४९ मत पाएको छ ।

उदयपुर २ बाट एस पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा १२ हजार ८९३ मत सहित हार्नु भयो । खतिवडालाई कांग्रसको भन्दा माओवादीले धेरै साथ दिएको थियो । कांग्रसको एक पक्षले बागी उम्मेदवारी दिएको थियो । यहाँ कलम चिन्हले समानुपातिकमा दुई हजार २३५ मत मात्र पाएको छ । यहाँबाट के प्रष्ट हुन्छ भने माओवादी र कांग्रसको केही मत जगन्नाथलाई आएको हो । यहाँ समानुपातिक तर्फ कांग्रेसले १० हजार ५१५ र माओवादीले सात हजार ४०६ मत ल्याएको छ ।

कसैलाई गठवन्धनको भोट, कसैलाई चोट

काठमाडौं ८ बाट कलमका उम्मेदवार मन्त्री जीवनराम श्रेष्ठको हार भएको छ । उहाँले चार हजार ८८१ मत मात्र ल्याउनु भयो । यहाँ कलमले समानुपातिकमा एक हजार १६९ मत ल्यायो । यहाँ श्रेष्ठलाई कांग्रस र माओवादीले राम्रो योगदान गरेको छ । तीनै पार्टीको समानुपातिक मतको योगफल भन्दा प्रत्यक्षमा श्रेष्ठले ल्याएको मत बढी देखिन्छ । यहाँ कांग्रेसले चार हजार ८०७ र माओवादीले पाँच सय नौ मत पाएका छन् । तीनै पार्टीको मतको योगफल ६ हजार ४८५ हुन्छ । जीवनरामले गठवन्धनको सबै भोट नपाएको छर्लङग देखिन्छ ।

ललितपुर २ का उम्मेदवार कृष्णलाल महर्जन आठ हजार २६४ मत सहित हार्नु भयो । जहाँ कलम चिन्हमा एक हजार ५७८ मत आएको छ ।

मकवानपुर २ मा पूर्वमन्त्री विरोध खतिवडाले पनि नराम्रो हार व्यहोर्नु भएको छ । ३० हजार ४३२ मत ल्याएर उहाँ पराजित हुँदा कलमले यहाँ दुई हजार ५९० मत मात्र पाएको छ । यसबाट के बुझिन्छ भने कांग्रस र माओवादीले राम्रै योगदान गर्दा गर्दै पनि उहाँले हार्नुभएको मान्न सकिन्छ । यहाँ कांग्रेसले २१ हजार र माओवादीले १३ हजार बढी मत पाएका छन् ।

कास्की २ का श्रीनाथ बरालको अवस्था पनि नाजुक देखियो । १० हजार मत पनि कटाउन नसक्नु भएका बरालले नौ हजार ६५९ मत ल्याएर हार व्यर्होनु भयो । यहाँ कलम चिन्हले एक हजार १७७ मत पाएको छ ।

त्यस्तै गुल्मी २ मा रामकुमारी झाँक्री २६ हजार ४४१ मत ल्याएर पराजित हुनु भयो । यहाँ कलमले एक हजार ६०३ मत मात्र पाएको छ । झाँक्रीलाई गठबन्धनका अन्य पार्टीले राम्रो योगदान गरेको देखिन्छ । यहाँ गठवन्धनका तीन वटा पार्टीले समानुपातिकमा पाएको मत भन्दा प्रत्यक्षमा रामकुमारीले ल्याएको मत बढी छ । यहाँ कांग्रेसले १८ हजार र माओवादीले पाँच हजार भन्दा बढी मत पाएका छन् । तीन पार्टीको समानुपातिक मतको योगफल २५ हजार ४९१ हुन्छ । यसबाट के बुझिन्छ भने कांग्रस र माओवादीको राम्रै योगदान हुँदा हुँदै पनि रामकुमारीले पराजित हुनुपर्यो ।

पाल्पा २ मा पनि सोमप्रसाद पाण्डेको अवस्था त्यस्तै देखियो । पाण्डे २४ हजार ८९९ मत ल्याएर पराजित हुनुभयो । यहाँ कलमले एक हजार ३०६ मत पाएको छ ।

गठबन्धन बिना माधवको पार्टी

यसबाट के प्रष्ट हुन्छ भने गठबन्धन नगरेको भए माधवको पार्टीको हरिबिजोक हुन्थ्यो । कलममा निकै कम मत खसेको क्षेत्रमा पनि अन्य पार्टीको मतले माधवका उम्मेदवारले जितेको तथा प्रतिस्पर्धी बनेको तथ्यांकले देखाएको छ ।

माधवको पार्टीका १८ जना उम्मेदवारले ल्याएको कूल मत चार लाख सात हजार ४६८ छ । कलमका उम्मेदवार भएको ठाउँमा समानुपातिक तर्फ कलमले पाएको कूल मत ६४ हजार २८२ छ । कतिपय क्षेत्रमा माधवका पार्टीका उम्मेदवारले १० हजार मत पनि पाएका छैनन् । १० हजार भन्दा कम मत ल्याएर हार्ने उम्मेदवारमा काठमाडौं ८ बाट उठ्नु भएका पूर्वमन्त्री जीवनराम श्रेष्ठ, ललितपुर २ का कृष्णलाल महर्जन र कास्की २ का श्रीनाथ बराल हुनुहुन्छ ।

सनराइज खबरबाट