काठमाडौं,२६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याउन लागेको राजनीतिक अध्यादेश तुरुन्त फिर्ता गर्नु पर्ने बताउनु भएको छ ।
सोमबार एक अभिव्यक्ति दिदै थापाले सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले राखेको धारणा शत प्रतिशत सही रहेको बताउनु भएको छ ।
‘यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन, नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो । किनकी विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ,’ महामन्त्री थापाले भन्नुभएको छ, ‘अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ । अतः सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन, फिर्ता लिनुपर्छ ।’
थापाले अध्यादेशको सम्बन्धमा कांग्रेसको धारणा यस्तो रहेको स्पष्ट पार्नुभएको छ :
–अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ । यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ ।
– अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निर्णय गर्न मिल्दैन । अध्यादेश ल्याउने कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन । यसको विषय र मनसाय गलत छ ।
–अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन । यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडी वढाउन सक्छ ।
–अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ ।




















