काठमाडौँ,२७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना प्रवक्ता ज्ञानेन्द्र शाहीले कसैले पनि मान्छेको ज्यान लिएर त्यसलाई राजनीतिक रंग दिन नहुने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारका क्रममा उनले यस्तो बताएका हुन्।

‘मान्छे मार्ने कुरा कुनै पनि राजनीतिक हुँदैन। मान्छे मारेर राजनीति गर्नु हुँदैन’, उनले भने, ‘टीकापुर हत्याकाण्डमा जोडिएका रेशम चौधरीका नाममा काम चलाउ सरकारले विवादित अध्यादेश ल्याएर रौतहटको इँटा भट्टामा जिउँदै मान्छे पोल्ने मोहम्मत अफताव आलमलाई छुटाउने योजना बनाएको छ।’

उनले यो अध्यादेश पारित भयो भने इँटाभट्टामा मान्छे मार्ने आलम र अन्य गम्भीर अपराधका दोषी पनि छुट्ने बताए।

‘यो रेशमका लागि मात्रै ल्याएकोहोइन। कसैलाई मारेपछि प्रचा फालेका भरमा म दलको कार्यकर्ता भन्दा उन्मुक्ति पाउने अवस्था आउँछ’, उनले भने, ‘पहिलो कुरा त काम चलाउ सरकारले अध्यादेश ल्याउन पाउँदैन। यसलाई फिर्ता पठाउनुपर्छ, रोक्नुपर्छ। राष्ट्रपतिले पनि यसलाई फिर्ता पठाउनुपर्छ।’