काठमाण्डाै,४ पुस । नेकपा एकीकृत समाजवादीकाे संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन हुनुभएको छ ।

आज साेमवार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । अध्यक्ष संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे र दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वाला चयन हुनुभएको छ ।

अध्यक्ष नेपाल रौटहट–१ बाट, उपाध्यक्ष पाण्डे धादिङ २ र उपमहासचिव ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

एकीकृत समाजवादीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन ।

जनमत पार्टीको संसदीय दलको नेतामा डा. सीके राउत

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत चयन हुनुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदको बैठकले राउतलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

डा. राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।