काठमाडौं,५ पुस । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा फेरि पनि देशकै सर्वाधिक ठूलाे र लाेकप्रिय पार्टी बनेकाेमा नेकपा एमालेले आज विशेष कार्यक्रम गर्दैछ ।
लाेकप्रिय पार्टी बनेकाे खुशीयालीमा एमालेले आज ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गर्न लागेकाे हाे ।
काठमाडाैंकाे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मध्यान्ह १२ बजे हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई दिनुहुनेछ । अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।
कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभाका नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्य, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवार, निर्वाचन परिचालन कमिटीका सदस्य, पार्टी केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, जनसंठनका थप तीन जना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नलाई बाेलाइएकाे छ ।
फेरि पनि देशकै सर्वाधिक ठूलाे र लाेकप्रिय पार्टी बन्न सफल भएकाे एमाले प्रत्यक्षतर्फ भने केही सिटले दाेस्राे भएकाे छ । समानुपातिकतर्फ कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएकोमा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएर फेरि पनि देशकै सर्वाधिक ठूलाे र लाेकप्रिय पार्टी बन्न सफल भएकाे हाे ।
एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् । एमालेबाट प्रदेश सभामा प्रत्यक्षतर्फ ९१ र समानुपातिकतर्फ ७० गरेर कुल १ सय ६१ जना निर्वाचित भएका छन् ।
एमालेबाट प्रदेश सभामा प्रत्यक्षतर्फ प्रदेश-१ मा २५, मधेस प्रदेशमा १५, वाग्मतीमा १३, गण्डकीमा १२, लुम्बिनीमा १८, सुदूरपश्चिममा ३ र कर्णाली प्रदेशमा ५ जना सांसद् निर्वाचित भएका छन् ।
एमालेबाट समानुपातिकतर्फ प्रदेश-१ मा १५, मधेश प्रदेशमा ८, वाग्मतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद् निर्वाचित भएका छन् । याेसँगै एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा गरेर कुल २ सय ३९ जना सांसद् निर्वाचित भएका छन् ।




















