चितवन,५ पुस । नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
आजदेखि १ महिना दैनिक ४ घण्टा सडक बन्द रहने नागढुंगा-मुग्लिन सडक आयोजनाले जनाएकाे छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्न दैनिक ४ घण्टा सवारी आवागमन राेक्न लागिएकाे हाे ।
४ वटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।
नारायणगढतर्फबाट जाने यात्रुवाहक सवारी साधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ । मालवाहक सवारी साधनलाई भतेरी जंगलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिनेछ ।
काठमाडौंतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिनेछ ।
काठमाडौंतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिनेछ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायत अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिने आयाेजनाले जनाएकाे छ ।


