काठमाडौं,५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली म्यान अफ दि इलेक्शनको सम्मान पाएका  छन  । मंसिर ४ गते सम्पन्न निर्वाचनमा ५० हजार मत कटाएर  निर्वाचित हुने एकमात्र उम्मेदवार ओलीलाई आज नेकपा एमालेले सो सम्मान प्रदान गरेको हो ।

काठमाडौंमा आयोजित बिशेष समारोहबीच ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका भाई एवं जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले खादा ओढाएर सम्मानित गरे  । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओली झापा ५ बाट ५२ हजार ३ सय १९ मत ल्याएर बिजयी भएका थिए  ।

पाँच दलीय गठबन्धनको घेराबन्दीबीच सर्वाधिक मत पाएर जितेको उपलक्ष्यमा एमालेले ओलीलाई सम्मान गरेको महासचिव शंकर पोखरेलले बताए  । महासचिव पोखरेलले लोकप्रिय मतमा एमाले पहिलो र सर्वाधिक लोकप्रिय उम्मेदवारमा ओली म्यान अफ दि इलेक्सन बनेको बताए  । सोही कार्यक्रममा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठलाई अध्यक्ष ओलीले खादा लगाएर सम्मान गरेका थिए ।

अध्यक्ष ओली ५० हजार मत कटाएर निर्वाचित हुने एक मात्र नेता हुन् । सोही आधारमा एमालेले आज उनलाई ‘म्यान अफ दि इलेक्शन’ को रुपमा सम्मान गरेको हो ।

एमालेका चार जिल्ला अध्यक्ष सम्मानित

नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्लिन स्वीप गर्न सफल हुने चार जिल्लाका अध्यक्षहरूलाई सम्मानित गरेको छ । पुस ५ गतेको अवसर पारेर एमालेले आयोजना गरेको विशेष कार्यक्रममा अध्यक्ष ओलीले तीन वटै जिल्ला अध्यक्षलाई सम्मान गरे ।

७७ जिल्लामध्ये एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका सबै सीट जित्न सफल भएका जिल्लामा अर्घाखाँची,धनकुटा र पर्वत छन् । 

कार्यक्रममा धनकुटाका इन्द्रमणी पराजुली,पर्वतका राजु पौडेल र अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल सम्मानित भएका छन् । त्यस्तै संसदीय इतिहासमै पहिलो पटक चुनावी जित निकाल्न सफल भएको सोलुखुम्बु जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलालाई पनि सम्मानित गरिएको थियो ।