काठमाडौँ,५ पुस । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन नजिकिँदै गर्दा नेताहरु तितरबितर हुने क्रम बढेको छ। दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा उठ्ने भएपछि नेताहरु बाँडिन थालेका हुन्।
महामन्त्री विश्वप्रकाश शर्मा दलमा उठ्न लागेका अर्का महामन्त्री थापाको उम्मेदवारीमा समर्थक बसिसकेका छन्।
यसैबीच कांग्रेसको चौधौँ महाधिवेशनमा नेता कृष्ण सिटौला समूहबाट संस्थापनसँग मिलेर महामन्त्रीमा उठेका प्रदीप पौडेलले थापालाई सघाउने भएका छन्।
दलको नेतामा थापालाई साथ दिँदै पौडेलले देउवा र सिटौलाको साथ छाडेका छन् । चौधौँ महाधिवेशनअघि गगनले सिटौलाको साथ लिएपछि पौडेलले उक्त स्थान लिएका थिए।
उनी सिटौला र संस्थापन समूहबाट चौधौँ महाधिवशेनमा महामन्त्री पदमा पराजित भएका थिए। अहिले उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका सदस्य छन्।




















