काठमाडौं,८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई २४ घण्टे अन्तिमेतम दिएपछि सत्ता गठबन्धन दुर्घटनाको संघारमा पुगेको छ । बालुवाटारमा बिहीबार साँझ भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलका क्रममा प्रचण्डले शुक्रबारसम्मको अल्टिमेटम दिएका थिए ।
प्रचण्डले शुक्रबारसम्म जवाफ दिन भनेपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निकट नेताहरूसँग छलफल थालेका छन् ।अहिलेकै सत्ता गठबन्धन कायम राख्ने भए आफूलाई पहिलो चरणमै प्रधानमन्त्रीमा समर्थन गर्न कांग्रेसलाई एक दिने अल्टिमेटम दिएका छन् ।
उता प्रचण्डले प्रचण्डलाई प्रधानमन्त्रीमा सघाउने निर्णय गरेको खण्डमा कांग्रेसको इतर समूहले भने निर्णय नमान्ने तयारी गरेको छ । बालुवाटार स्रोतका अनुसार प्रचण्डको अडानमा देउवाले सहमति नजनाएपनि बाध्यतामा भने परेका छन् ।
बैठकमा प्रचण्डले गठबन्धनबाट कांग्रेसले सरकार चलाइसकेकोले अब आफूले पालो पाउनुपर्ने बताएका थिए । पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादीबीच संघर्ष चलिरहँदा प्रचण्डले शुक्रबारभित्रै जवाफ दिन भनेका हुन् ।
देउवाले भने प्रधानमन्त्रीका लागि अढाई वर्ष पर्खन प्रचण्डलाई आग्रह गरेका थिए । शक्ति बाँडफाँटका अरु विकल्पमा छलफल गर्न सकिने देउवाको भनाइ छ ।
तर, कांग्रेसले पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बन्न सहयोग नगरे विकल्पमा जाने संकेत प्रचण्डले गरेका छन् । कांग्रेस नेताहरूलाई शुक्रबारसम्म निर्णायक जवाफ दिन प्रचण्डले आग्रह गरेको उनको प्रमुख स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।
यो पनि पढ्नुहोस - गगनलाई उचालेर पछार्ने विश्वप्रकाश र प्रदीपले के पाए ?




















