काठमाडौं, ८ पुस । मुख्यमन्त्रीबाट राजीनामा नगरी प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गर्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको राजीनामा स्विकृत भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट शुक्रबारै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गर्नुभएको हो ।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोक्नुभएको बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पाण्डेले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभई बिहीबार मात्रै प्रतिनिधिसभा सदस्यको शपथ लिनुभएको थियो ।