काठमाडौं,९ पुस ।  नेपाली कांग्रेसका सांसदहरू आज बालुवाटारमा भेला हुने भएका छन् । महामन्त्री गगन थापालाई पराजित गर्दै शेरबहादुर देउवा दलको नेता निर्वाचित भएपछि कांग्रेस सांसदहरुको पहिलो भेला हुन लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार, प्रधानमन्त्रीको सरकारी निवासमा सांसदहरू मध्यान्ह १२ः३० मा भेला हुनेछन् । 

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि वहुमत जुटाउन सांसदहरुको हस्ताक्षर समेत गराइरहेको छ । केही सांसदले खाली कागजमा सही गरेका छन् भने बाँकीलाई हस्ताक्षर गराउन बालुवाटार बोलाइएको बताइएको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले समयसामयिक राजनीतिक समीक्षा एवं गठबन्धनमा रहेका अन्य दलसँग ‘पावर शेयरिङ’ गर्ने विषयमा सांसदहरूसित छलफल गर्न लागिएकाे बताए । सांसदहरूलाई खबर गर्ने क्रम जारी रहेको उनले जनाए ।

राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समयसीमा सकिनैलाग्दा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू तीव्र छलफलमा छन् । भोलि अपरान्ह ५ बजे राष्ट्रपतिले दिएको समयसीमा सकिँदै छ । त्यसको ठीक अघिल्लो दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नै आफ्ना सांसदहरूलाई बालुवाटार बाेलाएका हुन् ।