काठमाडाैं,९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वाेच्च अदालतले नफुटाएको बताउनुभएकाे छ ।
काठमाडौं-प्यूठान सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले नेकपा अदालतले नभएर पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालहरुले फुटाएका बताउनुभयाे ।
एमालेलाई सिध्याउने उद्देश्यले नेकपा फुटाउने काम प्रचण्ड र माधवहरुले गरेका उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले एकजुट बनाइसकेकाे पार्टीलाई प्रचण्ड र माधव समूहले सेटिङबाट फुटाएका बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'अदालतले अर्काे नाम लिएर दर्ता गर्न आउन भनेकाे थियाे, फुटाएकाे त थिएन, नाम फेर न भनेकाे थियाे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्कैका नाममा दर्ता भएकाे हुनाले अर्कै नाम लेउ भनेकाे थियाे, मैले पार्टी एकजुट बनाउन धेरै काेशिस गरेँ, तर पार्टी फुटाउने उद्देश्यले काम भइरहेको थियो त्यसकारण नयाँ नाम लिएर जाने कुरै भएन, पार्टी जसले विभाजन गर्न खाेजेका थिए तिनले विभाजन गरे अदालतले हाेइन, प्रचण्ड, माधव र झलनाथहरूले अलग गरेकाे हाे, पार्टी फुटाएका हाे, त्याे एमालेलाई ध्वस्त बनाउने षड्यन्त्र थियाे ।'
आफूले तत्कालीन नेकपालाई अर्काे नाम राखेर जाेगाउन कैयाैं काेशिस गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । एमालेलाई ध्वस्त बनाउने षड्यन्त्र स्वरुप १९ बुँदे अभियाेगपत्र ल्याइएकाे र त्यहिँबाट एमाले ध्वस्त बनाउने कामकाे सुरुआत भएकाे उहाँले स्मरण गर्नुभयाे ।
आफूले एकता एकीकरणका लागि दिएकाे बहुमत संख्याकाे दुरुपयाेग गरेर आफूलाई साधारण सदस्यबाट समेत निकाल्ने काम प्रचण्ड र माधव समूहले गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'बहुमतका नाममा मलाई त साधारण सदस्यबाट समेत निकालेकाे तपाइँहरुलाई थाहा हाेला, जसले पार्टी ध्वस्त भएका ठाउँमा आन्दाेलन केही नभएका ठाउँमा सुरु गरेर ल्यायाे उसैलाई दुई तिहाइकाे स्थितिमा पार्टीलाई पुर्याएपछि, दुई तिहाइकाे स्थितिमा प्रभावकारी सरकार चलाएपछि, त्यस्ताे बेलामा निष्कासन गर्ने, अत्यन्तै झुटा लाञ्छना र घिनालाग्दा आराेप त्यहाँबाट सुरु गरेका थिए ।'
अध्यक्ष ओलीले सत्ता परिवर्तन, सरकार परिवर्तन, पार्टी विभाजन जस्ता सबै षड्यन्त्र एमाले विरुद्ध भएका बताउनुभयाे । एमाले सिध्याइछाड्ने खेल दुई-अढाई बर्षदेखि सुरु भइरहेकाे र त्यस खेललाई मंसिर ४ काे चुनावसम्म समाप्त पारिएकाे उहाँले बताउनुभयाे ।
अध्यक्ष ओलीले भन्नुभयाे - 'हामीलाई सिध्याउने याेजना असफल बनायाैं, हामीले हाम्राे पार्टीकाे रक्षा मात्रै गरेनाैं, हाम्राे पार्टी फेरि पनि नेपालकाे सर्वाधिक लाेकप्रिय पार्टी हाे,सर्वाधिक जनताले मन पराएकाे जनप्रिय पार्टी हाे, याे कुरा स्थापित गर्याे अरु पार्टी भन्दा बढी मत ल्याएर, यसका लागि नेपाली जनतालाई म धन्यवाद दिन्छु ।'