काठमाडौं,१० पुस  । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनका नेताहरूलाई लचकता अपनाउन आग्रह गरेका छन् ।

सत्ता गठबन्धनका दलबीच सरकार गठनका विषयमा सहमति हुन नसकिरहेका बेला नेता भट्टराईले अन्यथा अर्काे गठबन्धनको सरकार पनि बन्ने र देश अस्थिरतातर्फ जाने चेतावनी दिएका हुन् ।

‘वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेसम्म देशमा एउटा वा अर्को गठबन्धनको सरकार अनिवार्य बनेको छ’, डा. भट्टराईले भनेका छन्, ‘यस्तो स्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध दल र नेताहरूले आवश्यक सुझबुझ, लचकता र त्यागको भावना देखाउनैपर्छ। नत्र देश अस्थिरताको दलदलमा फस्नेछ ! सबै जिम्मेवार बनौं ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुले दिएको समय आज साँझ ५ बजे सकिँदैछ । तर, दलहरुले भने प्रधानमन्त्री, राष्ट्रपति लगायत प्रमुख पदमा सिट बाँडफाट टुंगो लगाउन सकिरहेका छैनन् ।

नेपाली कांग्रेसबाट सभापति शेरबहादर देउवा र नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमनत्री बन्ने अडान कायम राखेका छन् । दुई दलबीच आलोपालोमा सरकार चलाउने सहमति भएपनि पहिलो कार्यकाल कसले लिने भन्ने विषयमा ठोस सहमति हुन सकेको छैन ।