काठमाडौं,११ पुस  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसबाट गल्ती भएको स्वीकार गरेका छन् । 

आज (सोमबार) सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री थापाले गठबन्धन जोगाउन नसक्नु कांग्रेसको गल्ती भएको र माओवादी केन्द्रले एमालेसँग गठबन्धन गर्नु बेइमानी भएको बताएका हुन् ।  उनले भने, ‘नपाली कांग्रेसले जुन गठबन्धन हिजो हामीले जोगाउन सकेनौँ, त्यो हाम्रो गल्ती भयो, कमजोरी भयो, तर माओवादीको तर्फबाट बेइमानी भयो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस मतदाताको पनि सांसद भएको बताए । उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज प्रधानमन्त्रीको सपथ लिँदै हुनुहुन्छ उहाँलाई त नेपाली कांग्रेसका मतदाताले मत हालेको हो नि । उहाँ त नेपाली कांग्रेसको मतदातामा पनि सांसद हो नि । कतिको हातको मसी नै सुकेको छैन । त्यसकारण मैले निर्वाचनअघि मिल्नु हुँदैन है भने हामीले त्यो कल्चर नै छैन, त्यो संस्कृति संस्कार नै छैन ।’

माओवादीले एमालेसँग मिलेर सरकार बनाउनु मतदातामाथि ठूलो धोका र बेइमानी भएको बताएका छन् । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई बालकोट, खुमलटार, बुढानीलकण्ठ जहाँ गएपनि सुविधा थियो । तर कांग्रेस र माओवादीसँग यो सुविधा थिएन । यो भनेको मतदातामाथिको ठूलो धोका बेइमानी होइन ?’