काठमाडौं,११ पुस । सामान्यतः सार्वजनिक कार्यक्रममा सधैँ हतारोमा देखिने र आफ्नै तनावमा अल्झिरहने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण कार्यक्रममा अझ धेरै अधीर र अस्थिर देखिनुभयो ।
राष्ट्रपति निवास सितलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा देउवा अत्यन्त दिग्दार मुद्रामा प्रस्तुत हुनुभएको थियो । प्रधानमन्त्रीलाई राष्ट्रपतिले शपथग्रहण गराउन लागेपछि सहभागी सबै उठेका भए पनि देउवा भने तनावको मुद्रामा बसिरहनुभएको थियो ।
सबै जना उठ्दा पनि देउवा नउठेपछि सबैको ध्यान देउवा तर्फ गएको थियो । उहाँलाई नजिकै रहेका सुरक्षा कर्मीले उठ्न संकेत गर्दा पनि लापरबाहीपूर्ण तरिकाले बसिरहनुभयो । त्यस पछि पछाडिबाट आएका कर्मचारीले उहाँलाई उठ्न संकेत गरेपछि देउवा बल्ल बसेको ठाउँबाट उठ्नुभयो ।
शपथग्रहण कार्यक्रममा सबै उठ्दा पनि नउठ्नु देउवाको नियत थियो कि ? लापरबाही वा बेहोसी ? त्यो उहाँलाई नै थाहा होला तर कार्यक्रममा उहाँको व्यवहार अत्यन्त स्वाभाविक थियो ।
बसेको ठाउँबाट उठ्नु भएका देउवाको मुख मुद्रा शपथग्रहण अवधिभर अति बेचैनी र दिग्दार देखिन्थ्यो । उहाँ बारम्बार मुख बिगार्दै हुनुहुन्थ्यो । त्यति मात्र होइन उहाँ कतिखेर कार्यक्रमबाट भागौँ भन्ने भावमा देखिनुहुन्थ्यो ।
नभन्दै प्रचण्डको शपथ सकिने बित्तिकै देउवा प्रचण्डसँग हात मिलाएर निस्की हाल्नुभयो । उहाँले सरकारका उपप्रधानमन्त्री तथा मन्त्रीले शपथ लिने समसम्म बस्ने पनि धैर्यता राख्नु भएन । उहाँ शपथ ग्रहण कार्यक्रम नै नसकिई हतार हतार कार्यक्रम स्थलबाट बाहिरिनुभयो । सनराइज खबरबाट