काठमाडौं,१२ पुस । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले ‘सत्ताको पहिलो क्लासमै धेरै ज्ञान’ हासिल गरेको बताएका छन् । उनले पहिलो क्लासमै वितृष्णा भएको पनि बताएका छन् ।

आइतबार राति फेसबुकमा स्टाटस लेख्दै उनले ‘काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभएको भए आफूले राजनीतिबाटै सन्न्यास लिन सक्ने’ उल्लेख गरेका छन् । उनले ‘मेरो नियति’ भन्दै नयाँ सरकार गठनका लागि भएको दौडधुपबारे टिप्पणी गरेका हुन् ।

‘सत्ताको पहिलो क्लास आज – पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन । काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म यतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थेँ होला’, उनले फेसबुकमा लेखेका छन्, ‘तर, आफै जलेर कालो खरानी बने पनि उज्यालो पार्नु छ रे ! मेरो नियति । शुभरात्रि ।’

जनमत पार्टी नयाँ गठबन्धनमा सहभागी भएको छ । जनमतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन समर्थन गरेको छ । यो विषयमा छलफल गर्न आइतबार डा. राउत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।