विराटनगर,१५ पुस । प्रदेश १ मा नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेको केन्द्रीय सदस्य अमृतकुमार अर्यालले आफ्नै प्रस्तावक र समर्थक मध्ये एकको मत पाउन सकेनन् । आज (शुक्रबार) भएको निर्वाचनमा उनले दुई मत मात्र प्राप्त गरेका छन् ।

बिहीबार उम्मेदवारी दर्तामा अर्यालको प्रस्तावक सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरूङ बसेका थिए । प्रस्तावक, समर्थक र आफ्नो मत गरी उनको कम्तिमा तीन मत आउनुपथ्र्यो तर उनले दुई मत मात्र प्राप्त गरे ।

अर्याल पार्टी सभापति शेदबहादुर देउवा निकट मानिन्छन् । यो समूहले प्रदेशमा कांग्रेसबाट निर्वाचित २९ संसदमध्ये १० देखि १२ संसद आफ्नो समूहमा रहेको दावी गर्दै आएको थियो ।

प्रदेशमा कांग्रेसको संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा १८ मतसहित निर्वाचित हुँदा शेखर कोइराला समूहका केदार कार्कीले ९ मत ल्याएका छन् । थापालाई देउवा समूहले समर्थन गरेपछि अर्याल एक्लिएका थिए ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियासिल रहेका अर्याल कांग्रेसको मोरङ जिल्ला सभापतिहुँदै हाल केन्द्रीय सदस्य छन् । उनी संविधानसभा सदस्यसमेत हुन् ।

चुनावताका नै आफूलाई मुख्यमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गरेका अर्याललाई संसदीय दलको नेतामा आफ्नै समूहका संसदले मत दिएनन् ।