विराटचोक,१५ पुस । मोरङको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई(डिपी)ले निर्माणाधीन बेलबारी नगर अस्पतालको भवनमा कुनै पनि लापरबाही भए कारबाही गर्ने बताएका छन्।

बेलबारी वडा नं.४ मा निर्माण हुँदै गरेको  नगर अस्पतालको शुक्रबार अनुगमनको क्रममा प्रमुख राईले यस्तो कुरा बताएका हुन् ।

११ करोड बराबर लागतमा निर्माण हुँदै गरेको नगर अस्पतालमा कमसल सामाग्री प्रयोग भएको जनगुनासो आएसँगै ठेकदार कम्पनि शृङ्खला निर्माण सेवा नुवाकोटलाई  नगरप्रमुख राईले कुनै पनि लापरबाहीमा छुट नहुने बताएका छन् । 

निर्माणमा सम्झौता अनुसारको सामाग्री प्रयोग नभएको पाइए पछि नगरपालिकाले पटक पटक सचेत गराउँदा पनि लापरबाही दोहोरी रहेको छ । अब कुनै लापरबाही भए त्यही प्रकारको व्यवहार हुने नगर प्रमुख राईको चेतावनी रहेको छ । काम र सामाग्रीको गुणस्तरमा कहीँ पनि कम्परमाइज नहुने राईले बताए ।

शृङ्खला निर्माण सेवाका कर्मचारी रमेश गौतम दुई चारवटा सम्झौतामा नखुलाएको सामाग्री मात्र प्रयोग भएको बताउँछन् । आगामी दिनमा गल्ती नदोहोरिने गौतमले बताए । अस्पताल एक वर्ष भित्र निर्माण गरी सक्नु पर्ने थियो तर सम्झौता अनुसार निर्धारित समयमा सम्पन्न नहुने भए पछि  चैत ३० गते सम्मलाई म्याद थप गरेको गौतमले बताए ।

तर ठेकदारले १ नम्बर इँटा प्रयोग गर्नु पर्नेमा टुक्रे इँटाहरू प्रयोग भएको र व.पी.सी सिमेन्ट प्रयोग गर्नु पर्ने ठाउँमा पि.यस.सी सिमेन्ट प्रयोग भएको बेलबारी नगरपालिकाको सहरी पूर्वाधार विकास शाखाले जनाएको छ । सम्झौता विपरीतका निर्माण सामाग्री फिर्ता गरेर अहिले भने ओ.पि.सी सिमेन्ट ल्याएको छ र १ नम्बर इँटा ल्याब टेस्टबाट प्रमाणित गर्दै काम सुचारु भएको छ । सोहि वडाका अध्यक्ष चन्द्र लिम्बुले अस्पताल निर्माणमा  वडाको तर्फबाट पनि कडा निगरानी गरिने बताए । कोशी नेपालबाट